• Monday 3rd of August 2026

मुख्यमन्त्री राईद्वारा पक्की पुलको शिलान्यास


  • गोकर्णेश्वर अनलाइन

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर र उदयपुरलाई जोड्ने दुधकोशी नदीमा पक्की पुलको शिलान्यास गर्नुभएको छ ।
भोजपुरको हतुवागढी–९ हसपुरको चुहार र उदयपुरको बेलका नगरपालिका–७ मैनामैलीलाई जोड्ने उक्त पक्की पुलको सोमबार उहाँले शिलान्यास गर्नुभएको हो ।

प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको २१ करोड २३ लाख १२ हजार ४०७ रूपैयाँको लगानीमा निर्माण हुने सो पक्की पुलको लम्बाइ ९० मिटर र चौडाइ फुटपातसहित १० रहेको प्रदेश नं १, भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक रेवतीरमन पराजुलीले जानकारी दिनुभयो । उहाँले आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी कालिका प्यासिफिक जेभीले सो पुल निर्माणको ठेक्का लिएको बताउनुभयो ।

सो अवसरमा मुख्यमन्त्री राईले सो स्थानमा पुल निर्माणको लागि यसअघि तीन पटक बोलपत्र खुलाएको भएपनि कुनै पनि निर्माण व्यवसायीले बोलपत्र नहालेपछि पुल निर्माणमा केही ढिलाई भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘यो प्रदेश सरकारको उच्च प्राथमिकतामा परेको पुल हो, यस अघि आह्वान गरिएका तीन वटा बोलपत्रमा कसैले पनि काम गर्ने इच्छा नगरेपछि काममा केही ढिलाई भएको हो । अब यसको निर्माण चाँडै हुनेछ ।’’

मुख्यमन्त्री राईले तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै यदि तोकिएको समयभित्रै गुणस्तरीय रुपमा निर्माण सम्पन्न गरेमा यही स्थानमा एक कार्यक्रमका बीच निर्माण कम्पनीलाई प्रदेश सरकारको तर्फबाट पुरस्कृत गर्ने घोषणा गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य सुदन किराँतीले पुल निर्माणले भोजपुरबासीको समृद्धिमा धेरै ठूलो टेवा पुग्ने बताउँदै लामो समयदेखि पुल नहुँदा सास्ती खेप्दै आएका यस भेगका जनतालाई प्रत्यक्ष लाभ पुग्ने छ र यसले यहाँको समृद्धिको ढोका खुला गर्नेछ भन्नुभयो ।

हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जिल्लाको आर्थिक विकासमा यो पुल कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology