• Monday 3rd of August 2026

कोभिड अस्पताल निर्माणमा जुटे स्थानीय तह


  • गोकर्णेश्वर अनलाइन

भोजपुरका सबै स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माणको काम थालिएको छ । अस्पताल निर्माणका लागि स्थानीय तहरुले आवश्यक प्रक्रिया अगाडि बढाएका हुन् । पौवादुङमा गाउँपालिका–४ मानेडाँडा, रामप्रसादराई गाउँपालिका–६ र हतुवागढी गाउँपालिका–४ खैराङमा कोभिड अस्पताल निर्माण गर्ने तयारी थालेका छन् ।

केन्द्रबाट आएको परिपत्रअनुसार आवश्यक कर्मचारीका लागि दरखास्त आह्वान गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो । अध्यक्ष राईले भन्नुभयो, “केन्द्रबाट आएको जानकारीअनुसार हामीले प्रक्रिया अगाडि बढाएका छौँ, वडा नं ४ खैराङमा निर्माण गर्ने लक्ष्यका साथ कर्मचारीको दरखास्त माग गरिएको छ ।”

पौवादुङमा गाउँपालिकाले भने आवश्यक स्वास्थ्यकर्मीको समेत छनोट सम्पन्न गरेर केन्द्रबाट आएको परिपत्रअनुसार कामको थालनी गरेको जनाएको छ । वडा नं ४ मानेडाँडामा निर्माण हुने अस्पतालमा गाउँपालिकाले ल्याबसमेत सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । अध्यक्ष राईले भन्नुभयो, “हाम्रो कोभिड अस्थायी अस्पताल निर्माणका लागि काम अघि बढिसकेको छ, केन्द्रबाट रु १० लाख बजेट आएको छ, त्यसले ल्याब स्थापना गर्न रकम कम भएपछि गाउँपालिकाले नै ल्याब स्थापना गरेर दशैँअघिसम्ममा सञ्चालनमा ल्याउने तयारीमा छौँ ।”

निर्माण हुन लागेको अस्पतालमा अक्सिजनसहित पाँच शैय्या रहने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानु दाहालले जानकारी दिनुभयो । त्यस्तै टेम्केमैयुङ, आमचोक, अरुण, साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाले पनि प्रक्रियामा लागेको जनाएका छन् भने अरुण गाउँपालिका र भोजपुर नगरपालिकाले पनि निर्माणको काम थालनी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology