• Monday 3rd of August 2026

आँबुखैरेनी गाउँपालिकामा प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना


  • गोकर्णेश्वर अनलाइन

तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । स्थानीय स्तरमा हुने विवादका घटना वडामै मिलापत्र गराउने उद्देश्यले गाउँपालिकाले छ वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरेको हो । स्थानीय स्तरमा हुने स–साना झगडा, विवादलगायत घटना पालिकासम्म नल्याइकन सोही ठाउँबाटै समाधान गर्नका लागि मेलमिलाप केन्द्र स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक पुष्पादेवी श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय शासन ऐन, २०७४ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । उक्त समितिमा चार जना सदस्य र एक जना परामर्शदाता रहनुभएको छ । न्यायिक समितिमा दर्ता हुने केही मुद्दामा न्यायिक समितिले फैसला गर्ने र केही मुद्दा मेलमिलापबाट टुङ्गो लगाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।

गाउँपालिकाबाट सञ्चालन हुने मेलमिलाप कार्यक्रममा स्थानीय जनतालाई सम्मिलित गराई स्थानीय विवाद दिगो र प्रभावकारी रुपमा समाधान गर्ने संयन्त्रबाट सम्पादन गरिने कामलाई व्यवस्थित गराउन मेलमिलाप केन्द्र स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक पुष्पादेवी श्रेष्ठले जानकारी दिनुभयो ।

“मेलमिलापसम्बन्धी कार्यसञ्चालन तथा व्यवस्थापनमा एकरुपता कायम गरी न्यायमा समुदायको सहज पहँच अभिवृद्धि गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरेका छौं”, उहाँले भन्नुभयो, “समुदायमा हुने विवादलाई न्यायिक समितिबाट सञ्चालित मेलमिलाप केन्द्रमा आवद्ध मेलमिलापकर्ताले सहजीकरण गरी दुवै पक्षहरूको सुमधुर सम्बन्ध स्थापित गर्न सहयोग पुग्नेछ ।”

श्रेष्ठका अनुसार स्थानीयस्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गरी स्थानीय विकास प्रकृयालाई टेवा पु¥याउन, महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम, पिछडा वर्ग, सीमान्तकृत समुदायको सशक्तिकरण गरी सहभागितामूलक तरिकाबाट विवाद समाधान गर्न सहयोग गरी समाजमा न्याय, मानवअधिकार र नागरिक हितको सम्बद्र्धनमा मेलमिलाप केन्द्रले सहयोग पुग्ने विश्वास गरिएको छ ।

आँबुखैरेनी गाउँपालिका–१ मा पवन नेपाली, २ मा बासुदेव थापा, ३ मा नारायण गिरी, ४ मा मिनशोभा गुरुङ, ५ मा चतुरे मगर र ६ मा जङ्गबहादुर गुरुङ मेलमिलाप संयोजकमा रुपमा नियुक्त हुनुभएको छ । प्रत्येक वडामा चार जना महिला र तीन जना पुरुष मेलमिलापकर्ताको रुपमा छन् ।

मेलमिलापकर्तालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, आँबुखैरेनी गाउँपालिका र जाइका नेपालले छ दिने प्रशिक्षण प्रदान गरेको थियो ।गाउँपालिकाको न्यायिक समितिमा २०७५/७६ देखि हालसम्म ७० वटा उजुरी दर्ता भएकोमा ६९ उजुरीको समाधान गरिएको छ । हालसम्म गाउँपालिकाको न्यायिक समितिबाट मेलमिलापसम्बन्धी काम हुँदै आएकामा वडा वडामा नै मेलमिलाप केन्द्र स्थापना भएपछि वडाबाटै विवाद समाधान गरिने गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology