• Monday 3rd of August 2026

भारतीय बिरामी घटेपछि चौधरी आँखा अस्पताल आर्थिक सङ्कटमा


  • गोकर्णेश्वर अनलाइन

सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल यतिबेला आर्थिक सङ्कटमा परेको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण नेपाल–भारतीय सीमा बन्द हुँदा भारतबाट आउने बिरामीको सङ्ख्या ह्वातै घटेपछि यो अस्पताल आर्थिक सङ्कटमा परेको हो ।

सो अस्पतालमा करिब ७५ प्रतिशत भारतीय र २५ प्रतिशत नेपाली नागरिक उपचारका लागि आउने गरेको थियो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले भारतीय सीमानाका बन्द गरेपछि उपचारका लागि अस्पताल आउने भारतीय बिरामीको सङ्ख्या ह्वातै घटेको अस्पतालका प्रवन्धक अभिषेक रोशनले जानकारी दिनुभयो ।

“पहिला दैनिक एक हजार २०० सम्म बिरामी आउने गरे पनि अहिले घटेर ३ सयमा झरेको छ” उहाँले भन्नुभयो, “भारतीय बिरामी आउन छाडेपछि अस्पतालमा आर्थिक समस्या बढ्न थालेको छ ।” अस्पतालमा बिरामी घटेपनि करिब ६ महिनासम्म अस्पतालको मौज्दात रकमबाट कर्मचारीलाई तलब खुवाए पनि अब भने समस्या र्भरहेको उहाँको भनाइ छ । “अस्पतालको मुख्य आयस्रोत आँखाका बिरामीहरुको उपचार नै हो”, उहाँले भन्नुभयो, “उपचार सेवाबाट हुने आम्दानीले ३०० भन्दा बढी कर्मचारीलाई तलब खुवाउँदै आएका छौं, तर बिरामी नै घटेपछि अस्पतालको आयस्रोत पनि घटेको छ, फलस्वरुप अस्पताल सञ्चालन गर्न कठिनाई भइरहेको छ ।”

भारतीय सेवाग्राहीबाट उठेको पैसाले जिल्लाका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गदै आएको अस्पतालले अब त्यस्तो काममा समस्या हुन सक्ने बताएको छ । अस्पतालको आर्थिक अवस्थामा सुधार ल्याउन र शिविर सञ्चालन गर्न अब बैकिल्पक उपाय अपनाउनुपर्ने देखिएको छ । मुलुकमा जारी बन्दाबन्दीका समयमा पनि नियमित रुपमा उपचार सेवा सञ्चालन गर्दै आएको उक्त अस्पतालले बन्दाबन्दी शुरु भएको गत चैत ११ गतेदेखि अहिलेसम्ममा २७ हजार २१३ बिरामीको उपचार गरेको जनाएको छ । गत वर्षको सोहि अवधिमा अस्पतालले ७५ हजार भन्दा बढी आँखाका बिरामीलाई उपचार गरेको थियो ।

उपचारका लागि आउने बिरामीको सङ्ख्या घटेको र कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर अस्पतालले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिरहेको जनाएको छ । सो आँखा अस्पतालमा प्रदेश नं २ का आठ वटै जिल्ला र प्रदेश नं १ का उदयपुर, सुनसरी तथा भारतीय बजारबाट बिरामीहरु उपचारका लागि आउने गरेका छन् । स्थापना भएको विगत ३८ वर्षभित्र अस्पतालले ५९ लाखभन्दा बढी व्यक्तिको आँखाको जाँच तथा १२ लाखभन्दा बढीको शल्यक्रिया सेवा प्रदान गरेको अस्पतालका प्रमुख सञ्जय सिंहले बताउनुभयो । लहानबाहेक अस्पतालले मुलुकको विभिन्न शहरमा समेत शाखा बिस्तार गरी आँखाका बिरामीको उपचार गर्दै आएको छ ।

प्रमुख सिंहका अनुसार यो अस्पतालले लहानबाहेक सिरहा सदरमुकाम सिरहा बजार र मिर्चैया, सप्तरीको राजविराज र कञ्चनपुर, धनुषाको धनुषाधाम, महोत्तरीको बर्दिवास र जलेश्वर, सर्लाहीको मलङ्गवा, उदयपुरको गाईघाट, खोटाङ्गको दिक्तेल र हलेसी तथा सिन्धुलीको खाल्टे गरी १३ शाखामार्फत बिरामीलाई आँखाको उपचार सेवा प्रदान गर्दै आएको छ । यसबाहेक अस्पतालले बिभिन्न सङ्घसंस्थाको समन्वयमा घुम्ती आँखा शिविरमार्फत समेत बिरामीको निःशुल्क उपचार तथा शल्यक्रिया सेवा दिँदै आएको प्रमुख सिंहको भनाइ छ । सरकारले गरेको बन्दाबन्दीको समयमा आर्थिक सङ्कटमा परेका ५०० परिवारलाई राहत समेत वितरण गरेको अस्पतालले जनाएको छ ।

स्थानीय स्व. छबिलाल चौधरी, स्व. सरोबरलाल चौधरी र रबिन्द्रलाल चौधरीको सक्रियतामा सन् १९८२ मा स्थापना भएको अस्पतालले सन् १९८३ बाट नियमित आँखा उपचार सेवा शुरु गरेको हो । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको एउटा कोठाबाट शुरु भएको सो अस्पतालले सन् २०२१ बाट सुविधासम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने लक्ष्य लिएको प्रमुख सिंहले जानकारी दिनुभयो । आम नागरिकको उपचार सेवामा समर्पित यो अस्पतालको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सरकारले पनि सहयोग गर्नुपर्ने लहान नगरपालिका–७ का शंकर चौधरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology