• Monday 3rd of August 2026

किमाथाङ्का अरुणको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढ्यो


  • गोकर्णेश्वर अनलाइन

कूल ४५० मेगावाट क्षमताको किमाथाङ्का अरुणको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको तयारीका लागि क्षेत्र निर्धारणको काम अगाडि बढाइएको छ ।

प्रदेश नं १ को सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजना निर्माण हुन लागेको छ । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले सो आयोजना निर्माण गर्न लागेको छ । अरुण नदीमा निर्माण हुने आयोजनाको प्रभावित क्षेत्रको वातावरणमा पर्ने प्रभावका बारेमा सात दिनभित्र आवश्यक जानकारी दिन आग्रह गरिएको छ ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनसम्बन्धी क्षेत्र निर्धारण गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक, सामािजक एवं सांस्कृतिक तथा आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भन्ने विषय पत्ता लगाउन खोजिएको विद्युत् उत्पादन कम्पनी लिमिटेडले जनाएको छ ।

आयोजना प्रभावित क्षेत्रका गाउँपालिका वा नगरपालिका तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको राय सुझाव लिन आवश्यक भएकाले सार्वजनिक सूचना प्रकाशन भएको मितिले सात दिनभित्र राय सुझाव दिन भनिएको छ ।

आवश्यक राय सुझाव विद्युत् उत्पादन कम्पनी र एनइए इन्जिनीयरिङ कम्पनी लिमिटेडमा आवश्यक राय सुझाव दिन भनिएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका– २ भएर बग्ने अरुण नदीमा ७० मिटर अग्लो बाँध निर्माण गरिनेछ ।

सो बाँधका कारण अरुण नदीमा ०.३३८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १०३ लाख घन मिटर क्षमताको जलाशय बन्नेछ । पानीको डिजाइन बहाव करिब १४३ घनमिटरप्रति सेकेण्ड र करिब ३८० मिटरको कूल हेड प्रयोग गरी वार्षिक करिब दुई हजार ४९८ गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन गर्ने गरी आयोजनाको डिजाइन गरिएको छ ।

बाँधस्थलबाट ६ हजार ७१५ मिटर तल्लोतर्फ जमिनमुनी बनाइने विद्युत्गृहमा भूमिगत पेनस्टक पाइपमार्फत पानीलाई ६ वटा टर्वाइनमा खसाली विद्युत् उत्पादन गरिनेछ । विद्युत् उत्पादन पश्चात् करिब ७०० मिटर लामो टेलरेस टनेलबाट पानीलाई पुनः अरुण नदीमा नै छाडिनेछ ।

आयोजनाका संरचनास्थलमा पुग्नका लागि करिब २२ किलोमिटर लामो पहुँचमार्ग निर्माण तथा उत्पादित विद्युत् प्रसारणका लागि विद्युत्गृहबाट प्रस्तावित हाइटार सवस्टेशनसम्म करिब १८.५ किलोमिटर लामो प्रसारणलाइन समेत निर्माण गरिनेछ । आयोजनाका अधिकाशं संरचना मकालु बरुण राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा बन्नेछन् ।
एनइए इन्जिनीयरिङ कम्पनीका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले केही दिन पहिले रासससँगको कुराकानीका क्रममा किमाथाङ्का अरुणलगायत एक हजार मेगावाट क्षमता बराबरका आयोजनाको अध्ययन सकिएको र सीमित काममात्रै बाँकी रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology