• Monday 3rd of August 2026

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैँची


  • गोकर्णेश्वर अनलाइन

प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्यो तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ ।

गएको आर्थिक वर्ष २०७६/७७ को (साउन–भदौ) मा रु ६४ करोड २३ लाख एक हजार बराबरको चिया निकासी भएकामा यस आव (साउन–भदौ) मा रु एक अर्ब ५८ करोड ६६ लाख ५७ हजार मूल्य बराबरको चिया निकासी भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार गएको आव २०७६/७७ मा २३ लाख ५० हजार ७९० किलो चिया निकासी भएकामा यस आवमा बढेर ५३ लाख १७ हजार ५८२ किलो चिया निर्यात भएको छ । चियाको निकासी र आम्दानी ह्वात्तै बढ्नुका कारण भने भारतमा चिया उत्पादन कम हुनु भएको सरोकारवालाको भनाइ छ ।

कोरोना र मौषमले भारतमा चिया उत्पादन घटेकाले भारतमा नेपाली चियाको माग बढेको नेपाल टी एशोसिएशनका अध्यक्ष कमल मैनाली बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भारतमा २५ प्रतिशत चिया उत्पादन घटेको छ । त्यसैले चियाको निकासी नेपालमा बढेको हो ।” मैनालीका अनुसार नेपालका चिया किसानले चियाको उल्लेखीय मूल्य पाएकाले बढी निकासी भएको हो । निकासी बढे पनि नेपालमा चियाको उत्पादन भने नबढेको सरोकारवालाको भनाइ छ । गएको आर्थिक वर्ष कोरोनाका कारण निकासी नभएको चिया पनि यस आव निकासी हुँदा तथ्याङ्क बढेको हुनसक्ने अनुमान गरिएको छ ।

चियाको निकासी सधैँ अस्थिर रहने भएकाले पनि घटबढ भइरहन्छ । तर यस वर्षको शुरुमा भने अत्यन्त बढी अन्तर आएको छ । जुन अन्तरका कारण नेपालमा निकासी हुने वस्तुको दोस्रो बढी निकासी हुने वस्तुमा चिया परेको छ । वर्षको शुरुमा अन्तर बढे पनि वर्षभरको तथ्याङ्कमा फरक नपर्ने बताउनुहुन्छ, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राई । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार आव २०७४÷७५ मा एक करोड ५६ लाख ८४ हजार ५४४ किलो चिया निर्यात भएकामा गत आव २०७५÷७६ मा एक करोड ५० लाख ४३ हजार ७९६ किलो निर्यात भएको तथ्याङ्कले देखाउँछ । यसरी हेर्दा गत आवमा ६४ हजार ७४८ किलो चिया निकासी कम भएको देखिन्छ ।

घट्यो अलैँची, अदुवामा सामान्य सुधार

आर्थिक वर्षको शुरुमा अलैँचीको निकासी गएको वर्षको तुलनामा घटेको छ भने अदुवाको तथ्याङ्क भने सामान्य बढेको छ । गत आव २०७६/७७ (साउन–भदौ) मा रु ११ करोड ८३ लाख ५० हजार मूल्यको अदुवा निकासी भएकामा यस आव (साउन–भदौ) मा रु १३ करोड ८४ लाख ७२ हजारको अदुवा निकासी भएको छ ।

केन्द्रको तथ्याङ्कअनुसार गत आव (साउन–भदौ) मा २२ लाख ५९ हजार ४३१ किलो अदुवा निकासी भएकामा यस आव (साउन–भदौ) मा २८ लाख ७९ हजार १०० किलो निकासी भएको छ । अदुवाले गत आवको तुलनामा १७ प्रतिशत आम्दानी वृद्धि गर्दै कूल निकासीको शून्य दशमलव सात प्रतिशत ठाउँ ओगट्न सफल भएको छ ।

यता अलैँचीको तथ्याङ्कमा भने सामान्य सुधार भए पनि गएको आवको तुलनामा घटेको देखिन्छ । गएको आव २०७६/७७ (साउन–भदौ) मा रु एक अर्ब दुई करोड ५९ लाख ८९ हजारको अलैँची निकासी भएको छ भने यस आव २०७७/७८ मा रु ९६ करोड सात लाख १६ हजार मूल्यको निकासी भएको देखिन्छ । गत आर्थिक वर्ष २०७६/७७ (साउन–भदौ)मा १२ लाख ७५ हजार २९४ किलो अलैँची नेपालमा निर्यात भएकामा यस आव २०७७/७८ (साउन–भदौ) मा १२ लाख ८४५ किलो अलैँची निर्यात भएको केन्द्रको तथ्याङ्कले देखाउँछ ।

विभिन्न समस्याले अलैँचीको भाउमा गिरावट आएकाले पनि परिमाण र आम्दानी खुम्चिएको सरोकारवालाको भनाइ छ । कोरोनाका कारण किसान र व्यवसायीसँग भण्डारणमा रहेको पुरानो अलैँची बाहिरी देशमा निकासी नभएकाले घटेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीको भनाइ छ । गत वर्षको अलैँची निकासी नभएको र यस वर्षको अलैँची उत्पादन भइसकेकाले पनि अलैँची सुधार नभएको अध्यक्ष कार्की बताउनुहुन्छ ।

यस्तै वर्षेनी अलैँचीको भाउमा गिरावट आएकै कारण पनि आम्दानी घटेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मातृका घिमिरेको भनाइ छ । पाँच वर्षअघि अलैँचीको मूल्य रु एक लाखप्रति मन (४० किलो) भएकामा अहिले प्रतिमन रु २० देखि ३० हजारको अनुपात छ । यसरी अलैँचीको बिक्री मूल्य घटेकाले पनि आम्दानी घटेको घिमिरेको भनाइ छ । यस आर्थिक वर्षमा कृषिजन्य पदार्थले कूल ३२ दशमलव छ प्रतिशत ओगटेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology