• Monday 3rd of August 2026

खुलेन सुपथ मूल्यका पसल, तत्काल खोल्न प्रजिअको आदेश


  • गोकर्णेश्वर अनलाइन

नेपालीहरुको महान चाड दशैँ र तिहारमा उपभोक्तालाई सहज रुपमा नुन र चिनी किन्नका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय दिपायलले बर्सेनी खोल्दै आएको सुपथ मूल्यका पसल यो वर्ष अहिलेसम्म सञ्चालनमा ल्याएको छैन् ।

जिल्लामा सुपथ मूल्यका पसलहरु सञ्चालनमा नआउँदा उपभोक्तालाई समस्या हुँदै आएको छ । सुपथ मूल्यको सामान किन्न भन्दै यहाँका नागरिक दिपायल पिपल्लास्थित साल्ट ट्रेडिङ कर्पोरेसनको शाखा कार्यालयमा आउने गरेका छन् । सुपथ मूल्यका पसल सञ्चालनमा नआएका कारण गाउँबाट दशँै, तिहारका लागि सहुलियत दरको नुन र चिनी किन्न आउने ग्राहकहरु रित्तो हात फर्किन थालेका छन् ।

डोटीका प्रजिअ भीमप्रसाद भट्टराईले सुपथ मूल्यका पसल तत्काल चलाउन गर्न साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दिपायल शाखालाई निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गोदाममा नुन र चिनी जे जति छ, सोही अवस्था हेरेर पसल चलाउन भनेको छु, कर्मचारी पठाएर भए पनि चाडबाडमा पसल चलाउनुपर्छ ।” उपभोक्ताको अधिकार तथा हकहितका विषयमा कसैले पनि बाहनाबाजी गरेर खेलबाड गर्न नमिल्ने भएकाले उपभोक्ताको हक अधिकारका लागि आफू कटिबद्ध रहेको समेत प्रजिअ भट्टराईले बताउनुभयो ।

यहाँको बजारमा चिनी रु ९० र नुन रु ५० मा बिक्री हुने गरेको छ । विगतमा सुपथ मूल्यका पसलमा नुन रु १८ तथा चिनी रु ६५ मा बिक्री वितरण हँुदै आएको थियो । दशैँ, तिहारजस्तो महत्वपूर्ण चाडबाड मुखैमा आइपुग्दासमेत यहाँ सुपथ मूल्यका पसल खुल्न नसकेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । क्षेत्रीय कार्यालय धनगढीबाट चिनी अभावले नआएको हुँदा पसल सञ्चालन गर्न नसकिएको साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय दिपायलले जनाएको छ ।

चिनी नआए पनि नुन आएको र आवश्यक कर्मचारी तथा जनशक्ति अभावका कारण वितरण गर्न नसकिएको सो शाखाका कर्मचारी प्रकाश विकले बताउनुभयो । उहाँले भन्नुभयो, “चिनीको अभाव छ, सुपथ मूल्यका पसल खोल्नु भन्ने आदेश दिएको छैन, नुन तीन गाडी जति आएको छ, आवश्यक कर्मचारी नहँुदा वितरण गरेका छैनौँ ।” कार्यालयले बर्सेनी चाडबाडलाई लक्षित गरी बजार भाउभन्दा सस्तोमा चिनी, नुन बिक्री गर्दै आइरहेको थियो । यो वर्ष नुन तथा चिनी वितरण नगरेका कारण उपभोक्ताहरु आक्रोशित भएको दिपायल सिलगढी नगरपालिका–४ का खेमबहादुर पातलीले बताउनुभयो । उहाँले भन्नुभयो, “बजार भाउभन्दा सस्तो बिक्री वितरण गरिँदै आएको नुन र चिनी यो वर्ष जानकारी नदिएरै वितरण गर्न बन्द गरेकाले उपभोक्ता आक्रोशित बनेका हुन् ।” उनीहरुले सुपथ मूल्यका पसल सञ्चालन हुनुपर्ने माग गरेका छन् ।

विगतमा सुपथ मूल्यका पसल सञ्चालनमा आउँदा दैनिक सयौँ उपभोक्ताको भीड लाग्ने गर्दथ्यो । साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका प्रमुख केशव पाण्डेले आवश्यक कर्मचारी तथा चिनी अभावका कारण दिपायल साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयबाट सुपथ मूल्यका पसल सञ्चालन गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग केही दिनमा चिनी आउँदैछ, दिपायलमा आवश्यक कर्मचारी नहुँदा पसल सञ्चालन गर्न सकेका छैनौँ, स्थानीय तहले पसल सञ्चालन गर्न चिनी र नुन माग गरे तत्काल दिन सक्छौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology