• Monday 3rd of August 2026

बेलौरीको शोभाताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै


  • गोकर्णेश्वर अनलाइन

बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

नगरपालिकाले शोभाताल क्षेत्रको विकास लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको कार्य पूरा भएको छ । “सङ्घीय सरकारको सहयोगमा डिपिआर तयार गरेका छौँ”, नगरप्रमुख पोतिलाल चौधरीले भन्नुभयो, “पर्यटकीय क्षेत्रको सौन्दर्यकरणसँगै भौतिक पूर्वाधार विकासका लागि कार्य अगाडि बढाइएको छ ।” पुरिँदै गएको ताल क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने, ताल क्षेत्रमा रहेका पोखरीको सुदृढीकरण गर्ने, ताल क्षेत्र नजिकै बसोबास गर्ने मुक्तकमैया परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि माछापालनको कार्यलाई समेत अगाडि बढाइने उहाँले बताउनुभयो ।

ताल क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि ठेक्का प्रक्रियामार्फत योजना अगाडि बढाइएको छ । “ताल क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि नगरपालिकाले रु ५० लाख र सङ्घीय सरकारको रु एक करोड बढी बजेट परिचालन गरिने छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीले भन्नुभयो, “नगरकै गौरवको योजनाअन्तर्गत शोभाताल क्षेत्रलाई विकास गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउँछौँ ।”

उहाँका अनुसार पर्यटकका लागि ताल क्षेत्रसँगै नजिकको वन क्षेत्रको मनोरम दृश्य नियाल्नका लागि भ्यूटावर निर्माण गर्ने, तालमा पर्यटकलाई लक्षित गरी नौका विहारसँगै मोटरबोट सञ्चालन गर्ने योजना छ । आन्तरिक तथा बाह्य पर्यटकलाई बस्नका लागि पहिलो चरणमा पाँचवटा होमस्टे (घरवास) सञ्चालन गर्ने योजनासमेत नगरपालिकाको छ । स्थानीय थारू समुदायको संस्कृतिसँगै मौलिक परिकार घरवासमा बस्न आउने पर्यटकलाई उपलब्ध गराइने छ ।

“घरवास सञ्चालन भएपछि ताल क्षेत्र नजिकै बस्ने मुक्तकमैया परिवारको जीविकोपार्जनमा समेत सघाउ पुग्ने विश्वास लिएका छौँ”, प्रमुख प्रशासकीय अधिकृत चौधरीले भन्नुभयो, “जसबाट नगरपालिकाको आयमा समेत वृद्धि हुनेछ ।” ताल क्षेत्रमा एकनासको पानीको व्यवस्था गर्न बोरिङ जडान गर्ने र पर्यटकलाई पौडीको मज्जा लिनका लागि स्वीमिङ पोखरीसमेत निर्माण गरिने छ ।

प्राकृतिक ताललाई विभाजित गरी विगतमा माछापालनका लागि प्रयोग हुँदै आएको थियो । ताललाई खण्डखण्डमा विभाजित गर्दा संरक्षणको अभावमा अधिकांश हिस्सामा माटोलगायतको पदार्थ भरिएर ताल पानीविहीन अवस्थमा रहेको छ । तालको केही ठाउँमा स्थानीय बासिन्दाले कब्जा गरी खेतीसमेत गर्दै आएका छन् । ताल क्षेत्रलाई अतिक्रमणमुक्त गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि स्थानीय बासिन्दाले समेत नगरपालिकासँग ऐक्यबद्धता गरेका छन् । ताल नजिकैको वन क्षेत्रमा मयुर, चित्तललगायतका जनावरको अवलोकनसमेत गर्न सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology