• Monday 3rd of August 2026

शहीद भीमदत्तका नाममा आदर्श बस्तीको काम शुरु


  • गोकर्णेश्वर अनलाइन

अमरगढी नगरपालिका–२ स्थित शहीद भीमदत्त पन्तको कारीगाउँलाई आदर्श बस्तीका रुपमा विकास गर्न अमरगढी नगरपालिका अग्रसर भएको छ । नगरपालिकाले शहीद पन्त जन्मेको कारीगाउँलाई आदर्श बस्तीका रुपमा विकास गर्न काम शुुरु गरेको हो।

‘कि जोत हलो, कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्दै सशक्त रूपमा किसान आन्दोलन गरेका विद्रोही किसान नेता पन्तलाई तत्कालीन शासकले हत्या गरेका थिए । सशक्त रूपमा किसान र गरीव मजदुरको हितमा आवाज उठाएका पन्तको गाउँलाई आदर्श बस्तीका रूपमा विकास गर्ने कार्यको शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख विश्वेश्रप्रसाद ओझाले बताउनुभयो ।

स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि नगर प्रमुख ओझाले भीमदत्त आदर्श बस्तीको अवधारणा अघि सार्नुभएको थियो । पन्तको गाउँलाई आदर्श बस्तीका रूपमा घोषणा गरिए पनि काम अगाडि बढ्न सकेको थिएन । आर्थिक स्रोतका अभावमा विगतमा उल्लेख्य प्रगति हुन नसके पनि अहिले संघीय सरकारको पर्यटन पूर्वाधार विकास आयोजनामार्फत रु ७२ लाख लागतमा उक्तकार्यको प्रारम्भ गरिएको नगरपालिकाका इञ्जिनीयर कवीन्द्र विष्टले बताउनुभयो ।

कारीगाउँ प्रवेशद्वार ६ वर्षदेखि निर्माणाधीन रहेको नगर उपप्रमुख संगीता भण्डारीले बताउनुभयो । “यस बस्तीलाई आदर्श बस्ती बनाउने पहिलेकै योजना थियो तर केही आर्थिक तथा प्राविधिक समस्याका कारण शुरू भएको थिएन”, उहाँले भन्नुभयो, “सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पन्तको जीर्ण बनेको घरलाई पुनःनिर्माण गर्ने काम शुरु गरेका छौँ ।” आदर्श बस्ती मात्रै नभएर पन्तले उठाएका विषयको सम्बोधन गर्नु पनि आफूहरूको दायित्व भएको उहाँको भनाइ छ । उहाँले पन्त जन्मिएको घरको पुनःनिर्माण, घरसम्म कच्ची सडक निर्माण र सिङ्गो गाउँमा बाटो निर्माण तथा घरमा सङ्ग्रहालय निर्माण भइरहेको जानकारी पनि दिनुभयो ।

कारीगाउँलाई आदर्श बस्तीका रुपमा विकास गर्ने कार्यक्रमअन्तर्गत भौतिक संरचन निर्माणको काम भइरहेको छ । भीमदत्त आदर्श बस्ती बनेमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयवासी प्रदीप पन्तले बताउनुभयो । “डोटी घटाल रमणीय क्षेत्र हो, नजीकै घटाल थान, बूढी घटाल र डोटी घटालको मैदानलगायतका पर्यटकीय क्षेत्र छन्, यी क्षेत्रको प्रचारप्रसार पनि हुन्छ”, उहाँले भन्नुभयोे, “स्थानीयवासीले पनि रोजगारी पाउँछन्, यस क्षेत्रको विकास हुन्छ ।”

को हुन् पन्त
नेपाली किसान आन्दोलनका शहीद पन्त कारीगाउँमा विसं १९८३ मङ्सिर १० गते जन्मिएका हुन् । भारत उत्तरप्रदेशको सिन्हाईबाट संस्कृत विषयमा विद्यालयसम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो । यसले नै उहाँमा राजनीतिक चेतना बढायो । उनी सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि थिए ।

पन्तले ‘ठालु खान्ना आलु, गरीब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान चलाएका थिए । पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोही नाम हो ।‘जसको जोत, उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’, ‘कि जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ उनले जोताहा किसानका पक्षमा वकालत गरेका थिए।

किसान योद्धा पन्तको विसं २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो । विसं २०७२ फागुन १९ गते मात्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रूपमा पन्तलाई शहीद घोषणा गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology