• Monday 3rd of August 2026

ललितपुर महानगरपालिकाको सडकमा रातो पोतिने


  • गोकर्णेश्वर अनलाइन

ललितपुर महानगरपालिकाको सडकमा रातो रङ पोतिने भएको छ । महानगरपालिकाले केवल साइकल मैत्री शहर बनाउन हरियो रङ पछि रातो रङ लगाउने भएको हो ।

हिमालय होटल आसपास क्षेत्रमा रातो रङ पोतेर साइकल लेनको चिह्न राखिने भएको प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यस रङ लगाएको सडकमा साइकल मात्रै हिँड्न पाउनेछन् । यसमा अन्य सवारीसाधन भने हिँड्न पटक्कै पाउने छैनन् ।” गत वर्षझँै यस वर्ष पनि साइकल लेन निर्माणका लागि टेन्डर भइसकेको महर्जनले जानकारी गराउनुभयो ।

हाल लपु महानगरपालिकाको वाग्मती पुलदेखि लगनखेल तथा पुल्चोकदेखि ग्वार्काे र लगनखेलबाट मङ्गलबजार हुँदै पाटन दरबार आसपास क्षेत्रका सडकमा हरियो रङ कहीँ पोतियो र कहीँ पोतिँदैछ । अहिले पोतिँदै गरेको हरियो रङमा साइकल चढ्नेलाई मात्र प्राथमिकता दिइने भनिए तापनि अब पोतिने रातो रङमा केवल साइकल मात्रै गुड्न पाउने महर्जनको भनाइ छ ।

“अहिले महानगरभित्र ५.१ किलोमिटर साइकल लेन बनेको छ । आफू काठमाडौँ उपत्यका मेयर फोरमको उपाध्यक्ष भएका नाताले फोरमको बैठकमा पटकपटक अन्य मेयरसमक्ष साइकल लेनलाई विस्तार गरेर आफ्नो नगर तथा महानगरतर्फ लैजान सुझाव दिइरहेको छु”, उहाँले भन्नुभयो, “एकतर्फ पहिलो चरणमा वाग्मती पुल हुँदै बूढानीलकण्ठ अनि त्यसपछि दोस्रो चरणमा त्यहाँबाट शिवपुरी र अर्काेतर्फ लगनखेल हुँदै गोदावरी उद्यानसम्म लेन बनाएर लान सबै मेयरसमक्ष मेरो आग्रह छ ।”

ललितपुरको गोदावरी उद्यानदेखि काठमाडौँको शिवपुरीसम्म लगभग ३५ देखि ४० किलोमिटर साइकल लेन बनाइनेमा अन्य नगरका प्रमुख पनि सकारात्मक नै रहेका प्रमुख महर्जनले बताउनुभयो । हाल सडकमा दैनिक चलिरहेका यातायातले बढी मात्रामा वातावरण प्रदूषण गर्ने हुँदा साइकलको प्रयोगले वातावरण स्वच्छ हुनेछ ।

ललितपुर महानगरपालिकाले साइकल लेन निर्माण गरिरहेता पनि ऐन भने हालसम्म बनाउन सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology