• Monday 3rd of August 2026

दक्षिणा दिन र मन लागेको खान मिल्थ्यो तर भत्ता पाइएन


  • गोकर्णेश्वर अनलाइन

जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेराकी बसुन्धरा शर्मा एकल महिला हुनुहुन्छ । परिवारमा कोही नभएका र नौ दशक पुगिसक्नुभएकी उहाँकोे सहारा सामाजिक सुरक्षा भत्ता मात्रै हो ।कुश्मीशेराकै मणिरत्न पाध्या पनि बृद्ध दम्पती हुनुहुन्छ । उहाँहरूले सामाजिक सुरक्षा भत्ता पाउन थालेको वर्षौं भयो । अपाङ्गताको निलो परिचयपत्र भएका एक छोरा पनि हुनुहुन्छ । तीनैजनाले पाउने सामाजिक सुरक्षा भत्ताले मात्रै उहाँहरूको गुजारा चल्दै आएको छ ।
बागलुङ नगरपालिका वडा नं. ६ का तुलसीराम आचार्यको चाडपर्व खर्च पनि सामाजिक सुरक्षा भत्ता नै हो । “यो वर्ष समयमा सामाजिक सुरक्षा भत्ता नआएकाले दशैंका बेला हात रित्तो भएको छ ।” उहाँले भन्नुभयो, “पैसा भइदिएको भए केटाकेटीलाई दक्षिणा दिन हुन्थ्यो, मन लागेको खान मिल्थ्यो तर भत्ता आएन, खर्चकै समस्या छ । ” दशैंका बेला आउने भत्ता नआउँदा आपूmहरू मर्कामा परेको यहाँका जेष्ठ नागरिकहरूले बताए ।
उहाँहरू जस्तै बागलुङमा सामाजिक सुरक्षा भत्ताकै भरमा खर्च चलाउने र पर्व मनाउने धेरै छन् । कोरोना कहरका बीचमा पनि गाउँमा दशैंको रमझम छाएको छ । जिल्लाका सबै ठाउँमा धेरथोर लाहुरे पनि भित्रिएका छन् । शहर पसेकाहरू फर्किने मेसो गर्दैछन् । गाउँमा दशैं आए पनि जिल्लाका दशवटै स्थानीय तहका जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूले भने यो वर्ष दशैंको अनुभूति गर्न पाएनन् ।
दशैँ शुरु भएपछि सामाजिक सुरक्षा भत्ताको किस्ता रकम बुझेर दशैं मनाउने गरेका उनीहरूको यसपाली हात खाली भएको हो । “खै के महामारी भन्छन् पैसा सकेछन् र हो कि के हो भत्ता दिएनन्” कुश्मीसेराकी बसुन्धराले भन्नुभयो ‘हामीजस्ता केही नभएकालाई त पहिला हेरे हुने नि ।”
बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका यहाँका स्थानीय तहले ढिलागरी रकम निकासा गर्दा बैंकहरूले लक्षित समुदायसम्म भत्ता पु¥याउन सकेका छैनन् । दशैँ बिदा शुरु हुने दिनभन्दा दुई दिनअघि मात्रै यहाँका स्थानीय तहले बैङ्कमा रकम पठाएका छन् । “हामीले काम धमाधम गरिरहेका छौं, दुई हजार ५०० जनाको खातामा अपडेट गरेर एकैदिन पैसा राख्न सम्भव नै भएन।” एनएमबि बैङ्क कुश्मीशेरामा कार्यरत भीमले भन्नुभयो, “ढिलागरी खातामा पैसा आएकाले यो समस्या भएको हो ।”
जिल्लाको गलकोट नगरपालिकाले वडा नं. १० बाहेक सबै वडामा सामाजिक सुरक्षा भत्ता पु¥याएको छ भने बागलुङ नगरपालिकाले केही वडामा मात्रै भत्ता बाँडेको छ । “हामीले बैङ्कमा पठाउने हो, बाँड्ने काम बैङ्कको हो” तमानखोला गाउँपालिकाका प्रशासकीय अधिकृत प्रभात लामिछानेले भन्नुभयो “ढिलोगरी निकासा आएकाले बैङ्कले बाँड्न सकेनन् ।”
साठी वर्षमुनीका एकल महिला र निलो परिचयपत्र भएका अपाङ्गता भएका व्यक्तिहरूलाई दिईँदै आएको भत्ताको विषयमा सरकारले पटक पटक निर्णय फेरेका कारण समयमा भत्ता पु¥याउन नसकिएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर कार्कीले बताउनुभयो ।
स्थानीय तहले ढिलागरी निकासा गरेकाले र बैंकको पहुँच वडातहसम्म नभएका ठाउँमा भत्ता वितरणमा समस्या भएको हो । स्थानीय सरकारले पठाएको पैसा बैङ्कमा अल्झिदा दशैँका बेला जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूको हात खाली भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology