• Monday 3rd of August 2026

अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय


  • गोकर्णेश्वर अनलाइन

बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो । विसं २०४८ तिर बागलुङ–पोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले नयाँ घर पाएका छन् ।
विस्थापित परिवारका पुस्ताँैं पुराना घर फेरिए तर संस्कार भने फेरिएका छैनन् । दशैंँमा माझी समुदायमा एउटा अनौठो परम्परा छ । दशैंँको विशेषता जमरा माझी समुदायले शिरमा लगाउँछन् तर आफ्ना घरमा स्थापना नहुने मान्यता छ ।
दशैंँका अक्षतासँग जमरा लगाउने तर आफ्ना घरमा घटस्थापनामा राख्ने चलन भने छैन । ‘हाम्रा परम्परा यस्तै हो भन्ने किंवदन्ती छ, मैले जान्ने भएदेखि जमरा घरमा राखिएको छैन, मागेर लगाउने चलन छ’, माझी बस्तीका ३३ वर्षीय कृष्ण माझीले भन्नुभयो । आफू जान्नेबुझ्ने भएदेखि दशैँको टीका लगाए पनि जमरा राखेको थाहा नभएको उहाँ बताउनुहुन्छ ।
माझी दशैँको दिन टीकाजमरा त लगाउँछन् तर जमरा मागेर । यस वर्ष दशैँमा पनि खनियाबासको माझी समुदायले कसैका घरमा झमरा राखेका छैन । माझी समुदायमा परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिएका छन् । माझी समुदायमा अन्यत्र बस्नेले भने जमरा राख्छन् । ‘माझी भए पनि हाम्रो माइत त जमरा राख्नुहुन्छ,’ स्थानीयवासी फूलकुमारी माझीले भन्नुभयो, ‘खै कुन्नि किन हो, यहाँ त जमरा नराख्ने चलन रहेछ ।’ ‘जिजुबाजेको पालामा त जमरा राख्थे रे, कुन्नि के हो नराम्रो घटना भएपछि राख्न छाडेको भन्ने सुनिन्छ’, उहाँले थप्नुभयो, ‘खनियाबास र मालढुंगामा बस्ने माझीहरुले घरमा जमरा नराख्ने चलन रैछ ।’

अर्काका घरबाट जमरा लिएर भए पनि लगाउने, मीठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै जस्तै परम्परा छ । जिजुबाजेका पालादेखि नै दशैंँका लागि जमरा राख्न छाडिएको ६७ वर्षीय सोमबहादुर माझीको भनाइ छ ।
‘जुन वर्ष जमरा राख्यो त्यस वर्ष घरकी कन्याको मृत्यु भएपछि जमरा राख्न छाडिएको किंवदन्ती छ’, उहाँले भन्नुभयो, वर्षैपिच्छे जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको हो रे । दशैंँ मनाउन छाडिएन, त्यसका लागि जमरा चाहियो, अरुलाई मागेर भए पनि दशैं चाहिँ मनाइन्छ ।’ अन्यत्रका माझी समुदायले भने जमरा आफ्नै घरमा राखेर दशैँमा लगाउने गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology