• Monday 3rd of August 2026

खसीबोका बिक्री नहुँदा चाडपर्वमा खर्च जुटाउन मुश्किल


  • गोकर्णेश्वर अनलाइन

वडादशैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका किसान दानबहादुर बुढामगरलाई चाडपर्वमा खर्च जुटाउन समस्या भएको छ ।
महामारीले चहलपहल न्यून भएकोले खसी बोकाको कारोवार घट्दा परेको असरले खर्च जुटान समस्या भएको उहाँले बताउनुभयो । ‘‘बली चढाउन समेत नपाइने भनिएपछि बिक्री हुन गाह्रो भयो”, धनगढीमा शुक्रवार भेटिनु भएका बुढामगरले भन्नुभयो, “बिक्री नभएका खसी बोकालार्ई अब हिँडाएरै आफ्नै गाउँतिर फिर्ता लग्दैछौं ।” आफ्नो गाउँवाट १५ वटा खसी खरिद गरी धनगढी बजारमा व्यापार गर्नु भएका उहाँका गएको चार दिनमा जम्मा पाँच खसी मात्र बिक्री हुन सकेका छन् ।

विगत दशैँमा जस्तो खसी बोका कारोवारमा यस वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण ठूलो असर पुगेको घुम्ति व्यापार गर्ने गरेका किसानले बताएका छन् । बाख्रापालन गर्दै आउनु भएका चुरे गाउँपालिकाका अर्का किसान जीवन थापाले कोरोना फैलिने डरले दशँैको समयमा खसी बोकाको घुम्ति व्यापार नै गर्नु भएन । ‘‘जताततै कोरोनाको त्रास देखिँदा व्यापार गरेर कमाई गर्ने बाटो बन्द भयो”, थापाले भन्नु भयो । चुरे गाउँपालिकामा स्थानीय किसानले पालेका झण्डै २५० खसीबोका भने यसपाली काठमाडौँ र पोखरावाट आएका व्यापारीले खरिद गरेर लगेका छन् । ‘‘स्थानीय क्षेत्रमा जिउँदो खसी मुश्किलले प्रति किलो रु ५००देखि५५०मा खरिद बिक्री भइरहेको छ”, स्थानीय किसान प्रेम आचार्यले भन्नु भयो, “यहाँका खसी बोका पोखरा काठमाडौँ पुर्याएर बेच्दा प्रतिकिलो रु७००देखि ८०० सम्ममा बिक्री हुने गरेको रहेछ ।”

बाख्रापालनका लागि उर्बर भूमि मानिने चुरे गाउँपालिका क्षेत्रमा बाख्रापालन गर्ने किसानलाई सरकारवाट सहयोग नपुगेको गुनासो कृषकको छ । हाल ३६ वटा बाख्रा पाल्दै आउनु भएका आचार्यले सरकारले बाख्रापालन गर्ने किसानलाई विभिन्न सहयोग गर्ने गरेको भन्ने सुनिएपनि आफ्नो गाउँठाउँमा सरकारी कार्यक्रम कहिल्यै नपुगेको बताउनुभयो । कैलाली जिल्लाको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिकामा अधिकांश किसानको मुख्य आयस्रोत बाख्रापालन र फलफूल खेती छ ।

घर घरमा खसी बोकाको मार हान्ने र देवी—देवताको नाममा बलि दिने चलन घट्दै जाँदा पछिल्ला वर्षमा दशैँको समयमा खसी बोकाको कारोवार पनि घट्दै गएको व्यापारीको भनाइ छ । पहाडी क्षेत्रमा पालिएका खसी बोका दशैँको समयमा कैलालीका सहरी क्षेत्रका अलावा जिल्ला बाहिर समेत बिक्रीका लागि लैजाने गरिएको छ । यस पटक कोरोनाको सङ्क्रमणको जोखिमका कारण किसानले पर्याप्त सङ्ख्यामा खसी बोका बजारमा ल्याउन नसकिएको व्यापारीले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology