• Monday 3rd of August 2026

समयमै काम नसक्ने ठेकदारलाई कारवाही गर्न मुख्यमन्त्री भट्टको निर्देशन


  • गोकर्णेश्वर अनलाइन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तोकिएको समयमा काम नसक्ने तथा निर्माणका काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईलाई जिल्लामा निर्माणको काम लिने तर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कामनै नगरी योजना अलपत्र पार्ने ठेकेदारको लिष्ट तयार गरी कारवाहीका लागि सिफारिस गर्न निर्देशन दिनुभएको हो ।

निमार्ण सम्झौता भएको लामो समय भएका तर कामको शुरुआत नगरेका जिल्लाका सबै योजना र ठेकेदारको नामसहित तथ्याङ्क सङ्कलन गरी कारवाहीका लागि सिफारिस पठाउन आफूलाई मुख्यमन्त्री भट्टले निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी भट्टराइले बताउनुभयो । उहाँले भन्नुभयो, “तोकिएको समयमा काम नसक्ने तथा सम्झौता भएर पनि काम नगर्ने ठेकेदारको लिष्ट तयार गरी कारवाहीका लागि पठाउन निर्देशन भएको छ, सोहीबमोजिम प्रक्रिया अगाडि बढाउँदै छौँ ।” जिल्लामा अधिकांश योजना निमार्ण व्यवसायीको लापरवाहीका कारण ढिलासुस्ती भइरहेको यहाँका नागरिकहरुले मुख्यमन्त्रीसमक्ष गुनासो गरेपछि त्यस्ता कम्पनीलाई आवश्यक निर्देशनसहित कारवाहीका लागि प्रमुख जिल्ला अधिकारीलाई मुख्यमन्त्रीले निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो ।

दिपायल पुलदेखि एयरर्पोटसम्म जाने सडक पिच गर्नका लागि ठेक्का भएको लामो समय भएको भए पनि काम नगरेको प्रति चाँसो राख्दै मुख्यमन्त्री भट्टले तत्काल उक्त कार्य सुचारु गराउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुहुँदै काम अगाडि नबढाए कारवाहीका लागि सिफारिस गर्न आग्रह गर्नुभएको थियो । मुख्यमन्त्री भट्टको निर्देशनपछि अहिले जिल्ला प्रशासन कार्यालयले जिल्लामा काम सम्पन्न नभएका तथा सम्झौता भएको लामो समयसम्म पनि काम सुचारु नगरेका ठेक्का तथा ठेक्का सम्झौता गर्ने निर्माण कम्पिनीको तत्थ्याङ्क सङ्कलन कार्य अगाडि बढाइएको छ । ठेकेदारको लापरवाहीका कारण जिल्लामा एक दर्जन बढी योजना अल्पत्रमा परेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology