• Monday 3rd of August 2026

बाल चिकित्सालयलाई अनाथालय बनाउने प्रयास


  • गोकर्णेश्वर अनलाइन

अस्पताल सञ्चालक समितिको लापरवाहीका कारण भारतीय दूतावासको सहयोगमा निर्माण भएको उमाशंकरनाथ योगी बाल अस्पताल खण्डहर बन्दै गएको छ । कहिले चल्दै, कहिले बन्द हँुंदै गएको अस्पताल अहिले आफँै बिरामी अवस्थामा थला परेको छ । घोराही उपमहानगरपालिका १६ सर्रास्थित नेपाल–भारतमैत्री अस्पतालमा अहिले स्वास्थ्योपचार सेवा उपलब्ध छैन ।
अस्पतालको भवन निर्माण भएको ११ वर्ष बिते पनि अस्पताल भने चल्न सकेको छैन । अस्पताल सञ्चालन हुन नसक्दा भवन कहिले प्रहरीको आवासस्थल, कहिले असहाय बालबालिका राख्ने केन्द्र त कहिले छाडाचौपायाको आश्रयस्थल बन्न पुगेको छ । अर्थाभावका कारण भवन निर्माणपछि दुई पटक अस्पताल सञ्चालनको प्रयास भए पनि चल्न सकेन । अस्पताल चलाउनका लागि सञ्चालक समितिले समन्वय गर्न नसक्दा भवन निर्माण भएर पनि अस्पताल चल्न नसकेको स्थानीयवासीको आरोप छ । स्थानीय दाताले जग्गा दान गरेर भारतीय दूतावासले भवन निर्माण गरिदिए पनि अस्पताल सञ्चालक समितिको बेवास्ताका कारण सञ्चालन हुन नसकेको घोराही उपमहानगरपालिका –१६ का वडा सदस्य जगत् श्रेष्ठले बताउनुभयो । सञ्चालक समितिले आफूले पनि चलाउन नसकेको र र राज्यलाई सञ्चालन गर्न दिन पनि डराएका कारण अस्पताल चल्न नसकेको उहाँको भनाइ छ ।
अस्पताल नचल्दा लाखौँ रुपैयाका बहुमूल्य औजार प्रयोगविहीन बन्न पुगेका छन् । महत्वपूर्ण उपकरण र शय्या काम नलाग्ने हुन थालेका छन् । त्यसमा सञ्चालक समितिले ध्यान नदिएको श्रेष्ठले बताउनुभयो । अस्पताल २०६६ सालमा दूतावासको रु ६६ लाख सहयोगमा निर्माण भएको थियो । अस्पताल भवन निर्माणका लागि तत्कालीन जिल्ला विकास समितिमार्फत रु ७७ लाख उपलब्ध भएको थियो । बोलपत्र आह्वान गर्दा रु ६६ लाखमा नै अस्पताल भवन निर्माण भएको थियो ।
अस्पताल निर्माणपछि २०६६ साल असारदेखि घोराहीमा सञ्चालित बाल अस्पताललाई उक्त भवनमा सारिएको थियो । साउन महिनादेखि उक्त भवनमा प्रहरीसमेत बस्न थाल्यो । अस्थायी प्रहरी चौकी सर्रा २०६६ साल साउनमा एक महिनाका लागि भनेर अस्पतालमा बसेकामा २०७३ सालसम्म रह्यो । त्यही कारण बाल अस्पताल सञ्चालनमा समस्या सिर्जना भएको अस्पताल सञ्चालन समितिका अध्यक्ष प्रदीप योगी बताउनुहुन्छ । अस्पताल सञ्चालनका लागि आर्थिक स्रोत नभएकाले बन्द भएको उहाँले बताउनुभयो । कम्तीमा दुई वर्ष वार्षिक रु ३० लाख कतैबाट सहयोग भए अस्पताल सञ्चालन गर्न सकिने उहाँको भनाइ छ । “अहिले अस्पतालसँग एक रुपियाँ छैन, कसरी डाक्टर र कर्मचारी राख्ने, समस्या छ”, योगीले भन्नुभयो ।
आफूले अस्पताल सञ्चालनका लागि घोराही उपमहानगरपालिका, जिल्लाका राजनीतिक दल, दाङबाट निर्वाचित सांसदसँग बजेट माग गरे पनि कतैबाट सहयोग नभएको उहाँले गुनासो गर्नुभयो । “अस्पताल सञ्चालनका लागि राज्यका कुनै तहबाट हामीलाई सहयोग भएन, कतैबाट सहयोग नहुँदा अस्पताल सञ्चालन गर्न सकिएन, जसका कारण अस्पताल सञ्चालन नहँुदै बन्द हुन पुग्यो”, योगीले भन्नुभयो । अस्पतालमा एक्सरे मेसिन, ल्याब मेसिन, १० शय्या, अन्य परीक्षण गर्ने उपकरण भए पनि प्रयोग नहुँदा बिग्रन थालेकोे उहाँको भनाइ छ । “अस्पताल सञ्चालनका लागि भौतिक पूर्वाधारसँगै उपकरणहरु छन्, राज्यले केही महिनाका लागि अस्पतालमा डाक्टर र औषधिको व्यवस्था गरिदिन सके मात्र पनि अस्पताल सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
गत वर्ष घोराही उपमहानगरपालिकाले उक्त भवनलाई अनाथालयका रुपमा सञ्चालन गर्न खोजे पनि सफल हुन नसकेको योगीले बताउनुभयो। “अनाथालय सञ्चालनका लागि आवास, कपडा, खाना पकाउने भाडासँगै अस्पतालको जग्गालाई तरबार गर्ने कामसमेत गरिएको थियो तर स्थानीय सरकारले सञ्चालन गर्न सकेन”, उहाँले भन्नुभयो । बजेट अभावका र व्यवस्थापनको चुनौतीका कारण सञ्चालन गर्न नसकिएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी बताउनुहुन्छ । अस्पताल चलाउनुभन्दा पनि त्यसलाई अनाथ बालबालिका राख्ने बनाउन खोजेका छाँै, प्रदेश सरकारसँंग समन्वय गरिरहेका छौँ, छिट्टै सञ्चालनमा ल्याउछौँ”, चौधरीले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology