• Monday 3rd of August 2026

चाडपर्वको नाममा सडकमै व्यापार


  • गोकर्णेश्वर अनलाइन

स्थानीय प्रशासनले जिल्लाका सडकपेटीमा कुनै प्रकारको पसल नथाप्न नियम लागू गरे पनि सर्लाही सदरमुकामदेखि लिएर ग्रामीण बजारहरूमा पनि विभिन्न स्थानमा सडकपेटीमा ठेला, पसल थापेपछि दुर्घटनाको पनि जोखिम बढदै गएको छ ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत पर्ने लालबन्दी, हरिवन, वाग्मतीलगायत भित्री सडकखण्डका सडककै दुवैतर्फ फलफूल तरकारी र बच्चाका खेलौना राख्ने तथा सडकमै ठेला, रिक्सा, अटो लगाएपछि दुर्घटनाको जोखिम बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक केदारमान दोङले बताउनुभयो ।

चाडपर्वको समयमा मानिस तथा सवारीहरूको भीडभाड अनि आपराधिक गतिविधि हुनसक्ने आशङ्का रहे पनि यसरी सडकमै व्यापार व्यावसाय गर्दा ट्राफिक व्यवस्थापन गर्न समस्या हुनुका साथै दुर्घटना दिनप्रतिदिन बढिरहेको ट्राफिक प्रहरी प्रमुख दोङले बताउनुभयो ।

अहिले सडकमै सार्वजनिक बस, अटो रिक्सासहित ठेला, सडकपेटीमा पसल सञ्चालन गरेपछि आम सर्वसाधारणलाई आवतजावत गर्नसमेत कठिनाइ भएको छ । स्थानीय पसले एवं स्थानीयवासीले समेत सडकछेउमैै ठेला पसल, फुटपाथ पसल सञ्चालन गरेपछि पैदलयात्रा गर्नसमेत कठिनाइ भएको पैदलयात्री महेन्द्र महतोले बताउनुभयो ।

लालबन्दी नगरपालिकाले समन्वय नगर्दा ट्राफिक प्रहरी तथा नेपाल प्रहरीलाई समेत सडकपेटीका पसलेहरू, रिक्सावालाले नटेरेको गुनासो ट्राफिक प्रहरीको छ । नगरपालिका प्रमुख मानबहादुर खड्काले व्यवस्थापनको काम भइरहेको तर अहिले चाडपर्वको समय भएकाले तत्कालै निर्णय गर्न नसकिएको बताउनुभयो । उता जिल्लाभरिका सबै बजार र सडकको अवस्था त्यस्तै रहेको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सम्बन्धित स्थानीय निकायसँग समन्वय गरी समस्या समाधान गरिने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology