• Monday 3rd of August 2026

विकटका बासिन्दालाई चुनौतीसँगै अवसर पनि


  • गोकर्णेश्वर अनलाइन

काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका–५ मन्त्रेडाँडाका अनिता थिङ अहिले सोही वडाको चारकिल्लास्थित ग्रामोन्नती माविमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । गाउँकै भुवनेश्वरी आधारभूत विद्यलायमा कक्षा ६ उत्तीर्ण गरेपछि कक्षा ७ देखि ग्रामोन्नति माविमा अध्ययनरत उहाँ अहिले आफूले पहिला पढेको भुवनेश्वरी आधारभूत विद्यालयमा बालबालिकलाई पढाउने काम गर्दै आउनुभएको छ ।

गाउँमा एसइई पास गर्ने कमै मात्रमा भएपछि आफुले गाउँमा शिक्षण पेसामा आबद्ध हुने अवसर पाएको उहाँले बताउनुभयो । उहाँसँगै अर्का रमिता रानाले पनि सोही अवसर पाउनुभएको छ । अहिले सो गाउँमा एसइई पास गर्ने दुईजना मात्रै रहेका छन् । त्यसैले पनि शिक्षण काम गर्दै आफँै पनि कक्षा ११ मा अध्ययनरत रहेको उहाँहरुले बताउनुभयो । “गाउँमा सँगै पढ्ने धेरै भए पनि एसइई पास गरेर उच्च शिक्षा अध्ययन गर्नेमा हामी दुईजना मात्रै छाँै”, उहाँहरुले भन्नुभयो, “आपूmले प्राप्त गरेको योग्यताअनुसार आफ्नै गाउँमा अवसर पाएका छौँ ।”

विद्यालयमा पढाउन थालेपछि बेलुका मात्रै पढ्न समय मिलाउनु परेको उहाँहरुको भनाइ छ । भौगोलिक विकटताको कारण अवसर पाए पनि हरेक इच्छा र आकाङ्क्षालाई थाती राखेर जीवनलाई अगाडि बढाउनु धेरै चुनौती रहेको उहाँहरु बताउनुहुन्छ । “एकातिर विकटताले गर्दा अनकन्टार जस्तै लाग्ने गाउँले परिवेश, अर्कोतिर बिहान उठेर घरको काम, त्यसपछि विद्यालयमा पढाउने, उता कलेजमा पढ्न जानुपर्ने त्यो पनि टाढाको बाटो, जसले गर्दा निकै कठिनाइका बीच प्राप्त अवसरको सदुपयोग गर्दै जीवनयापनको माध्यम खोजिरहेका छौँ”, उहाँहरुले एकै स्वरमा भन्नुभयो । कामको बोझ, अध्ययन र विद्यालयको अध्यापन कार्यले गर्दा कहिलेकाहीँ नयाँ कुरा सिक्न र बुझ्नका लागि बाहिर घुम्नसमेत समय नमिलेको उहाँहरु बताउनुहुन्छ ।

घुँडेका स्थानीय बासिन्दासमेत रहनुभएका भुवनेश्वरी आधारभूत विद्यालयका शिक्षक मोहनबहादुर रखालले गाउँमा पढेलेखेका मान्छेको कमी र पढाइमा लगानी गर्ने विचारमा पनि कमी भएको कारण गाउँको अवस्था पछाडि पर्दै आएको बताउनुभयो । पछिल्लो समयमा केही सुधार हुँदै आएको भए पनि भौगोलिक विकटताका कारण अझै पछाडि परेको उहाँको भनाइ छ ।

एकातिर विद्यालय टाढा भएका कारण दैनिक घण्टौँको बाटो हिँडेर पढ्न बस्दा थाकेर ध्यान नै पढाइमा नजाने त अर्कोतिर परिवारका अरूले धेरै पढेको भए त्यही अनुसारले पढ्नुपर्छ भन्ने सोचको विकास हुन्थ्यो । उहाँले भन्नुभयो, “माहोल नै पढाइतिरको नभएका कारणले पनि गाउँ शिक्षामा पछाडि परेको पाइएको छु ।”

महाभारत गाउँपालिका–५ लुदिडाँडाका रञ्जना मगर दैनिक एक–डेढ घण्टाको बाटो हिँडेर चारकिल्लास्थित ग्रामोन्नति माविमा पढ्न जाने गर्नुहुन्छ । कक्षा ९ अध्ययनका लागि गाउँमा मावि नभएपछि दैनिक हिँडेर जानुपर्ने बाध्यता भएको हो । उहाँसँग सोही गाउँका अन्य तीनजना पनि सँगै सोही विद्यालयमा अध्ययनका लागि जाने गर्नुभएको छ ।

आधारभूत तहसम्म गाउँमा नै रहेको भुवनेश्वरी आधारभूत विद्यालयमा अध्ययन सकेपछि माध्यमिक तह अध्ययनका लागि गाउँदेखि टाढा जानुपर्ने बाध्यता रहेको अर्का पूर्णिमा तामाङ र सुनिता तामाङले बताउनुभयो । विद्यालय जानुअघि दैनिकरुपमा घाँस काट्ने र घरको अन्य काम गर्नुपर्ने बाध्यता उहाँहरुसँग रहेको छ । “हाम्रो दैनिक काम नै बिहान घाँस काट्ने र अन्य काम सकाएर मात्रै विद्यालय जानुपर्छ ।” उहाँहरुले भन्नुभयो, “गाउँमा हाम्रो यस्तै काम हुन्छ ।” एकातिर विद्यालय अध्ययन गर्न जान टाढा हुनु र अर्कोतिर गाउँमा काम गरेर मात्रै जीविकोपार्जन हुने भएकाले सबैले सकेको काम गर्नै पर्ने बाध्यताले गर्दा विद्यालय गएर पढ्ने संस्कारको विकास नभएको हो ।

सो विद्यालयबाट २० जनाले आधारभूत तह उत्तीर्ण गरेकामा गाउँका चार÷पाँचजना मात्रै माध्यमिक तह अध्ययनका लागि अर्को विद्यालय जाने गरेको उहाँहरुको भनाइ छ । अभिभावकले भने पढ्नका लागि जति आग्रह गरे पनि बालबालिकाले पढ्नमा चासो नै नदिएको बताउनुहुन्छ । सबैजसो त्यसैगरी बस्ने गरेको कारण पनि सङ्गतले गर्दा पढ्नतिर ध्यान नदिएको उहाँहरुको भनाइ छ ।

कृषि पेशाले मात्रै जीवन धान्दै आउनुभएका डाँडापारिको बुढाखानीस्थित घुँडे र बेत्तेनी आसपासका बासिन्दाले भर्खरै मात्रै गाउँमा मोटरबाटो पुगेपछि बल्ल जीवनमा नयाँ उमङ्ग थपेको अनुभूति गर्न थालेका छन् । बेत्तेनीका बुद्ध बालउन्नति प्राथमिक विद्यालयका प्रधानाध्यापक रोजल मोक्तान भन्नुहुन्छ, “गाउँमा पहिलोपटक बस आउँदा धेरै खुसी मात्रै होइन, हामीले यसरी घरआँगनमा नै बस आउँछ भनेर त कल्पनासम्म पनि गरेका थिएनौँ, अहिले आफ्नै आँगन भएर बस आउँदा निकै खुसी छौँ ।”

बेत्तेनीकै स्थानीय बासिन्दा लमोमाया तामाङ भन्नुहुन्छ, “अब गाउँमा गाडी आएपछि यहाँ उत्पादित कृषिजन्य वस्तुले बजार पाउने भए ।” यसअघि यहाँका स्थानीय बासिन्दा बनेपा धुलिखेल जानको लागिसमेत रोशी गाउँपालिकाका मङ्गलटारसम्म हिँड्नुपर्ने बाध्यता रहेकामा अब गाउँमा नै बस पुगेपछि निकै खुसी लागेको उहाँहरु बताउनुहुन्छ ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रको बासिन्दाको मुहार फेर्न काम बल्ल शुरु भएको बताउनुभयो । “यसअघि शिक्षा, स्वास्थ्य र गाँसबासका लागिसमेत अत्यन्तै कठिन अवस्था ब्यहोर्नुपर्ने बाध्यताबाट बल्ल मुक्त हुँदैछ”, उहाँले भन्नुभयो, “अब डाँडापारिका बासिन्दाका लागि अति आवश्यक मोटरबाटो पुगेसँगै बिजुली, शिक्षा र स्वास्थ्यको पूर्वाधार समेतको विकास हुँदै गएको छ ।”

जुन कामले पूर्णता पाएपछि बल्ल यहाँका बासिन्दाको चाहना अरू विषयमा हुने उहाँले बताउनुभयो । पालिकाको अति विकट घुँडे बेतेनीमा केही दिनअगाडि मात्रै पहिलो यात्रुवाहक बस पुगेपछि अरू अन्य विकास निर्माणको कामलाई जोड दिने बताउनुभयो । अहिले जिल्ला सदरमुकामदेखि सो पालिकाको केन्द्र जोड्ने मोटरबाटोको स्तरोन्नति र कालोपत्र गर्ने कामको प्रक्रिया अघि बढिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology