• Monday 3rd of August 2026

सञ्चारकर्मीको उपचारको व्यवस्था गर्न माग


  • गोकर्णेश्वर अनलाइन

नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै सङ्क्रमित सञ्चारकर्मीसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न माग गर्नुभएको हो ।

महासङ्घले महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेसागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न सबै पत्रकार अनुरोध गरेको छ । सङ्क्रमणको दर वृद्धिसँगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको भन्दै पछिल्लो समय चार सयभन्दा बढी पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ भने चारजना पत्रकारको कोभिड–१९ का कारण निधन हुन गएको उहाँले जानकारी दिनुभयो ।

सुसूचित, सचेत र जागरुक गराउने कार्यमा जुटेका पत्रकारलाई एकातिर कोभिड–१९ को कारण देखाई विभिन्न सञ्चारगृहबाट नियमित पारिश्रमिक नदिने, बेतलबी बिदामा राख्ने, बिनाकारण निष्कासन र सरुवा गर्नेजस्ता क्रमसमेत बढिरहेको र अर्कोतिर जोखिमका बीच पनि अग्रभागमा रहेर काम गरेकै कारण पत्रकारमा कोरोना सङ्क्रमण बढिरहेको उल्लेख गर्नुभएको छ । “दोहोरो मारको चपेटा झेलिरहेका पत्रकारहरु सङ्क्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर पेसागत कर्म निर्वाहका क्रममा कोरोना सङ्क्रमित भई यतिखेर आफ्नै खर्चबाट पिसिआर परीक्षण र उपचार गर्नुपर्ने बाध्यता हाम्रा सामु छ”, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology