• Monday 3rd of August 2026

खानी होल्ड भो ,चौकुने सिमेन्ट उत्पादन अझै सुरु भएन


  • गोकर्णेश्वर अनलाइन

खानी तथा भूर्गभ विभागले विसं २०६६ मा पश्चिम सुर्खेतको चौकुने क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनका लागि मुक्तिश्री इण्डस्ट्रिज प्रालिलाई इजाजत दिँदा खुशी थिए, स्थानीयवासी । विकासले पिछडिएको क्षेत्रमा ठूलो सिमेन्ट उद्योग सञ्चालनमा आउने भएपछि सडक, विद्युत्को सुविधाका साथै स्थानीयलाई गाउँमै रोजगारी पाउने आशा थियो । कम्पनीले आयोजनास्थलमा सम्पर्क कार्यालय खोलेपछि काम शुरु हुनेमा स्थानीयवासी उत्साही थिए तर इजाजत पाएको एक दशक नाघिसक्दासमेत उद्योग सञ्चालन पूर्वका तयारी नहुँदा चौकुनेवासी खिन्न छन् ।

कम्पनीले काम शुरु गर्ने आश्वासन मात्रै दिएको स्थानीयवासीको आरोप छ । स्थानीय तहको निर्वाचनताका घोषणापत्र सम्झँदै चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले भन्नुभयो, “उद्योग सञ्चालन हुने आशामा युवालाई रोजगारी दिलाउने प्रतिबद्धता जनायौँ, तर कार्यकाल सकिन थाल्यो सिमेन्ट उद्योगले गति लिने आधार देखिँदैन ।” उहाँ कम्पनीले खानी ‘होल्ड’ गर्ने नियत राखेको बताउनुहुन्छ । गाउँपालिका र प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षकै बजेटबाट खानी क्षेत्रसम्म पहुँच सडक निर्माण गरिसकेको छ । “आवश्यक सर–सहयोग गर्छौं, काम अघि बढाउनुस् भनेर अनुरोध गरेका ग¥यै छौँ,” अध्यक्ष शाहीले भन्नुभयो, “कम्पनीले केवल आलटालमात्रै गरिरहेको छ, खानी उत्खननको पूर्वतयारीका काम पनि गर्न चाहेको देखिएन ।” उहाँका अनुसार कम्तीमा खानी तथा प्लान्ट क्षेत्रको जग्गा अधिग्रहण गरेको भए आयोजना बन्ने टुङ्गो लाग्न सक्थ्यो ।

खानी क्षेत्रका बासिन्दाले जग्गा अधिग्रहणतर्फ कम्पनीले चासो नदिएको बताएका छन् । कम्पनीले कार्यालय खोले पनि उसका प्रतिनिधि प्रायः बस्दैनन् । जसले गर्दा स्थानीयवासी आयोजनाले गति लिनेमा आशङ्का व्यक्त गर्दछन् । “स्थानीयको विरोध मत्थर पार्नलाई मुक्तिश्रीले कार्यालय खोलेको हो, उद्योग सञ्चालन हुन्छ भन्ने विश्वास लाग्नै छाड्यो,” खानी क्षेत्र सरोकार समितिका संयोजक रामबहादुर बयक भन्नुहुन्छ, “स्थानीयले चर्को विरोध गरेपछि चार वर्ष अघि चुनढुङ्गा उत्खनन गर्ने प्रतिबद्धता जनायो, त्यसपछि पाइला टेकेका छैनन् ।” छनोट गरिसकेको जग्गा अधिग्रहण नगर्दा प्रभावित क्षेत्रका बासिन्दा आक्रोशित बनेका छन् । कम्पनीकै आश्वासनका आफूले जग्गा खरिद–बिक्री रोकेको बताउँदै उहाँले भन्नुभयो, “अधिग्रहण हुने भएपछि किनबेच रोक्यौँ, कम्पनीले छनोट गरेको जग्गा किन्ने सुरसार गरेको छैन ।” खानी क्षेत्र चौकुने गाउ“पालिकाअन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउ“, काफलगैरा र ओटपोखरीमा गरी कूल ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाका लागि कम्तीमा एक हजार ३८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ ।

खानी विभागले उद्योग अनुमति पत्रको म्याद पटक–पटक थप्दै आएको छ । सुर्खेतका व्यवसायी, दलका नेताले मुक्तिश्रीले चौकुने खानी क्षेत्र कब्जा गरेको भन्दै पटक–पटक प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । अनुमति पाएको १० वर्ष बितिसक्दासम्म प्रगति शून्य भएपछि विभागले पहिलोपटक विसं २०७४ मा लाइसेन्स रद्द गरेको थियो । लाइसेन्स रद्द भएपछि उच्च अदालत पाटनको आदेशमा पुनः नवीकरण गर्न विभाग बाध्य भएको थियो ।

कम्पनीका प्रोजेक्ट को–अर्डिनेटर लोकबहादुर अधिकारीले यसै वर्ष जग्गा अधिग्रहणको काम सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभयो । “खानी होल्ड गर्ने मनसाय होइन, खानी उत्खनन गरी उद्योग सञ्चालनका लागि आवश्यक पूर्वतयारी गर्दैछौँ”, उहाँले भन्नुभयो, “जग्गा अधिग्रहणको काम सकिनासाथ बाँकी काम गर्न सहज हुनेछ ।” विद्युत्को समस्या भने कायमै रहेको उहाँको भनाइ छ । कम्पनीका अनुसार प्लान्ट सञ्चालन गर्न १४ मेगावाट विद्युत् आवश्यक पर्दछ ।

खानी विभागले २०३५ देखि २०३९ सालसम्म यहा“को चुनढुङ्गा परीक्षण गरेर सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो । कारखाना सञ्चालन गर्न करिब रु आठ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । मुक्तिश्रीले दैनिक एक हजार ५०० देखि पा“च हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । निर्माण शुरु भएमा लागत, उत्पादन र क्षेत्रफलका हिसाबले चौकुनेलाई मुलुककै ठूलो सिमेन्ट कारखानाका रुपमा दाबी गर्ने गरिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology