• Sunday 2nd of August 2026

कानूनी अड्चनका कारण नागरिकता लिन समस्या


  • गोकर्णेश्वर अनलाइन

कानूनी अड्चनका कारण जिल्ला प्रशासन कार्यालय डोटीमा नागरिकता लिन आएका सेवाग्राहीलाई दिनहुँ समस्या हुँदै आएको छ । नेपाली नागरिकता लिनका लागि आफ्नो आमा, बुबाको नागरिकता अनिर्वायसहित सनाखत बस्ने व्यक्तिसमेत आफ्नै नातेदार हुनुपर्नेलगायतका कानूनी प्रावधान भएका कारण जिल्लामा नागरिकता बनाउन आउने सेवाग्राही रित्तो हात फर्किन थालेका छन् । दुई दिन लगाएर नागरिकता लिन आएकाहरु जिल्ला प्रशासनमा माग्ने कागजात तथा ढिलो गरी नागरिकता लिन आउनुको कारणबारे कागज माग्ने गरेका कारण नागरिकता नबन्दा खाली हात फर्किनुपरेपछि आक्रोशित हुन थालेका छन् ।

यतिमात्र नभई वर्षौँसम्म नागरिकता नलिएको भए नलिनुको कारण गाउँपालिका वा वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्ने नियम बनाइएका कारण यहाँका सेवाग्राहीलाई नागरिकता लिनमा निकै समस्या हुँदै आएको नागरिकता लिन आउनुभएका जिल्लाको केआइसिंह गाउँपालिका–२ का ५० वर्षीय स्थानीयवासी रिउले भुलले बताउनुभयो । उहाँले भन्नुभयो, “म सानै उमेरदेखि भारतमा काम गर्दै आएको थिएँ, अहिले कोरोनाका कारण घरमा आएँ, घरमा हुँदा नागरिकता बनाउन जिल्ला प्रशासन जाँदा ५० वर्षसम्म नागरिकता नलिनुको कारण खोलेर ल्याउनु भनेर फिर्ता गरियो, समस्या भयो ।”

जिल्ला प्रशासनमा नेपाली नागरिकता लिनेहरूको सङ्ख्यामा दिनहुँ वृद्धि हुन थालेको भए पनि नागरिकतासम्बन्धी विभिन्न कानूनी अड्चनका कारण कमै मात्रले नागरिकता पाउन थालेको दिपायलका स्थानीयवासी शेरबहादुर विकले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाले जिल्लाबाहिर कामका लागि गएकाहरु अहिले घरमा आएका छन्, फुर्सदको समयमा नागरिकता बनाउन खोज्दा विभिन्न कानूनी अड्चन देखाएर नागरिकता बन्दैन, यस्तो सास्ती दिनु राम्रो होइन ।” जिल्ला प्रशासनमा दैनिक १५० देखि २०० जनासम्म नागरिकता लिन आए पनि प्रशासनले खोजेको कानूनी प्रावधानअनुसारको कागजात पुर्याउन नसक्दा दिनमा जम्मा ५० देखि ६० जनाले मात्रै नागरिकता पाउने गरेका छन् ।

कोरोनाको सङ्क्रमण फैलिएपछि भारतमा रोजगारी गर्दै आएका जिल्लाका नागरिकहरु अहिले गाउँघरमा आएका र उनीहरुका श्रीमतीसहित घरपरिवारका सदस्य नागरिकता लिन आउन थालेपछि प्रशासनमा भीड बढ्न थालेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकता लिन आउनेको सङ्ख्या दैनिक बढ्दो छ, तर लामो समयसम्म नागरिकता नलिनुको कारण खोल्नु भन्ने कानूनी प्रावधान भएका कारण कर्मचारीले ती कागजात मागेको हुनसक्छ, त्यसैका आधारमा कसैलाई नागरिकता दिनबाट वञ्चित गरिएको छैन ।” डोटीबाट बसाइँसराइ गरी जिल्लाबाहिर गएका व्यक्तिका घरपरिवारसमेत अहिले यहाँबाट नै नागरिकता लिन आउने गरेका कारण नागरिकता वितरणमा समस्या हुने गरेको प्रजिअ भट्टराईको भनाइ छ । यद्यपि नागरिकता लिन आउने सेवाग्राहीले जिल्ला प्रशासनले अनावश्यक कागजात माग्ने गरेका कारण नागरिकता लिनमा समस्या हुने तथा दुःख हुने गरेको आरोप लगाउँदै आएका छन् ।

यसैगरी जिल्ला प्रशासनमा तोकिएको दरबन्दीअनुसारका कर्मचारीसमेत नहुँदा नागरिकता वितरणमा समस्या हुँदै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको दरबन्दी दुई वर्षदेखि जिल्ला प्रशासनमा खाली रहेको छ । विभागले नयाँ सहायक प्रमुख जिल्ला अधिकारी हालसम्म नपठाएका कारण उक्त दरबन्दी खाली रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शाखा अधिकृत दुई जनाको दरबन्दी भए पनि लामो समयदेखि उक्त दरबन्दी पनि खाली छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology