• Sunday 2nd of August 2026

कोरोना प्रभावित खेलाडीलाई ह्याण्डबल सङ्घको नगद सहयोग


  • गोकर्णेश्वर अनलाइन

नेपाल ह्याण्डबल सङ्घले कोरोनाबाट प्रभावित खेलाडीलाई राहतस्वरुप नगद सहयोग प्रदान गर्ने भएको छ । कोरोनाका कारणले विगत सात महिनादेखि खेलकूद गतिविधि बन्द हुँदा प्रभावित बनेका खेलाडीलाई राहत प्रदान गर्ने निर्णय गरिएको सङ्घका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो । ह्याण्डबल खेलको विकासमा योगदान गर्ने पूर्व अन्तराष्ट्रिय खेलाडी धनुषाका पवनलाल कर्ण, उदयपुरका मातृका राई, सुर्खेतका भुवन शाही, सशस्त्र प्रहरीबलमा कार्यरत अन्तर्राष्ट्रिय खेलाडी सन्दीप कार्की र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी सिरहाका रञ्जित सिंहलाई नगद सहयोग गरिने सङ्घले जनाएको छ ।

राष्ट्रिय खेलाडीलाई रु १५ हजार तथा अन्तरराष्ट्रिय खेलाडीलाई जनही रु २० हजारका दरले राहत उपलब्ध गराइने बताइन्छ । पूर्व अन्तर्राष्ट्रिय खेलाडी कर्णलाई नगद रु ५० हजार प्रदान गरिने भएको छ । निजी विद्यालयमा कार्यरत उहाँको जागीर गुमेकाले सो सहयोग गर्न लागिएको सङ्घका सचिव केशव पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोनाबाट प्रभावित खेलाडीहरुलाई राहतका लागि हामीले आह्वान गरेका थियौँ जसमा पाँच खेलाडीले सहयोग माग्नुभएको छ । केही दिनभित्रमानै जिल्लास्थित सङ्घ तथा केन्द्रीय सदस्यहरुमार्फत खेलाडीलाई राहत रकम प्रदान गर्छौैँ ।” कोरोना सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि सङ्घले यसअघि महिला तथा पुरुष खेलाडी तथा रेफ्री गरी १८० जनाको कोरोना बीमा गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology