• Sunday 2nd of August 2026

सङ्कटमा कुमाल समुदायको पुख्र्यौली पेशा


  • गोकर्णेश्वर अनलाइन

प्रदेश नं २ सहित तराई तथा पहाडका विभिन्न जिल्लामा बसोबास गर्ने कुम्हाले समुदायको माटाका भाडा बनाउने पुख्र्यौली पेशा हाल सङ्कटमा पर्न थालेको छ ।

परम्परागत रुपमा माटोबाट हण्डी, घैटा, गमला, सुल्पा, चिलिम, दिया, कलश, माट, सिरौटा, चुलालगायत आकर्षक सामग्रीहरु तयार पारी बिक्री गर्दै आएका कुम्हाले समुदाय आधुनिकतासँगै आफूले निर्माण गरेको माटोका सामग्री बिक्री हुन छाडेपछि पेशा नै सङकटमा पर्दै गएको बताउँछन् । विशेषगरी प्लास्टिकका भाँडा निर्माण भएपछि माटोका सामग्री बिक्री हुन छाडेपछि कुम्हालेको पेशा सङ्कटमा परेको हो ।

हिन्दूहरुको महान चाड तिहार र छठमा सबैभन्दा बढी बिक्री हुने माटोको सामग्रीलाई पछिल्लो समयमा झिलीमिली बिजुली बत्ती, धातुका दियो, प्लास्टिकका भाँडालगायत आधुनिक बस्तुले विस्थापित गरेको छ । बजारमा प्लास्टिकका बाल्टिन, जग, डस्टबिन, थाललगायत सामग्रीले माटाका भाँडाको व्यापार खाइदिएको जलेश्वर नगरपालिका–६ का ईश्वर पण्डितको भनाइ छ ।

पण्डितका अनुसार विगतमा हिन्दूहरुको महान चाड दिपावली, तिहार र छठ पर्वलगायत विभिन्न पूजापाठमा माटोको दियो, ढकनी, घैंटो, मटिया, कुसिया, कुरबारलगायत सामग्रीहरुको माँग अत्यधिक हुने गर्दथ्यो । माटोको भाँडा चोखो हुने हुँदा सबैले त्यही प्रयोग गर्थें । फलस्वरुप आफूहरुलाई ती भाँडा बनाउन भ्याइनभ्याइ हुन्थ्यो । अहिलेको समाज आधुनिकतामा रमाएर धातु र प्लाष्टिकका भाँडा तथा रेडिमेड बिजुली बत्तीहरु प्रयोग गर्न थालेपछि आफूहरुको व्यवसाय चौपट भएको उहाँको भनाइ छ ।

उहाँले करिब २० वर्षपहिले माटोका भाँडा बनाएर एक परिवारलाई वर्षमा रु ५ लाखदेखि ६ लाख कमाई हुने गरेको थियो । तर अहिले अरू बेला बिक्री नै हुँदैन, भइहाल्यो भने चाडपर्वको याममा एक परिवारले रु ५०÷६० हजारसम्म माटोको सामग्री बेचेर आम्दानी हुन्छ । उहाँले भन्नुभयो, “आम्दानी नभएपछि वर्षभरि परिवार पाल्न साहुमहाजनसंग लिएको ऋण तिरेर छाक टार्ने जोहो गर्छौं ।”

महोत्तरी गाउँपालिका–३ का राजी पण्डितले आफूहरुको पुख्र्यौंली पेशा परम्परागत संस्कारले मात्रै धानेको बताउनुभयो । “माटोको सामग्रीको व्यावसायीकरण नभएकाले आफूहरुको पेशा परम्परागत मान्यताले मात्रै थामेको छ”, उहाँले भन्नुभयो, “अहिलेको महँगो व्यवस्थामा माटोका सामग्री बनाउनेदेखि आगोमा पोलेर तयार पार्दासम्म माटो, दाउरा, रंग लगायतको सामग्री चर्को मूल्यमा खरिद गर्नुपर्छ ।” आफूहरुको पेशा व्यवसायीकरणका लागि सरकारी निकायका साथै गैरसरकारी सङ्घसंस्थाको ध्यान पुग्न नसकेको उहाँको गुनासो छ ।

आफूहरुको जातीय पेशा व्यवसायीकरण नहुँदा युवापुस्ता अन्य पेशा व्यवसायका साथै वैदेशिक रोजगारीका लागि खाडी मुलुक पलायन हुन बाध्य भएको जलेश्वर नगरपालिका–१ का मङ्गल पण्डितको भनाइ छ । अत्यधिक श्रमको प्रयोग र आर्थिक लगानीमा तयार गरिने माटोको भाँडा बिक्री नहुनु र बिक्री भएपनि लागतसमेत उठाउन नसक्नुका कारण यो पेशामा युवापुस्ता संलग्न हुन नचाहेको जलेश्वर नगरपालिका–११ का लक्ष्मी पण्डितले बताउनुभयो ।

जलेश्वर नगरपालिका–७ का वडाध्यक्ष रामछविला यादवले कुम्हाले समुदायको पुख्र्यौली पेशा सङ्कटमा पर्दै गएको तथा हाम्रो परम्परागत माटोका दियो र भाँडासमेत लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै कुम्हाले पुख्र्यौली पेशा र हाम्रो मौलिकता दुबैलाई संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology