• Saturday 25th of July 2026

सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा शुरु


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरस महामारीबीच स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर बैतडीमा पनि कक्षा ११ को परीक्षा शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा सञ्चालन गर्न भनेपछि विभिन्न विद्यालयमा कक्षा ११ को परीक्षा शुरु गरिएको हो । आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ को परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णयपछि विद्यालयले परीक्षा सञ्चालन गर्न थालेका हुन् ।

कोरोना भाइरसको जोखिमबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरिएको सेटीगाउँ मावि ककरपाखाका प्रधानाध्यापक परमानन्द जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा शुरु गरेका हौँ”, परीक्षा दिन विद्यालयमा पुगेका विद्यार्थीलाई स्वास्थ्य तथा सुरक्षाका सबै प्रक्रिया पूरा गरेर परीक्षा हलमा प्रवेश गराइन थालिएको हो ।

वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ अनुसार विद्यालयले कक्षा ११ को परीक्षा शुरु गरेको जनाएका छन् । बैतडीमा ५९ विद्यालयका विद्यार्थी परीक्षा दिने तयारीमा छन् । केही विद्यालयमा परीक्षा शुरु भइसकेको जानकारी आएको छ भने केही विद्यालय परीक्षाको तयारीमा रहेको जानकारी आएको शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक सहायक रामचन्द्र भट्टले जानकारी दिनुभयो । राष्ट्रिय परीक्षा बोर्डले मङ्सीर १२ गतेभित्र सबै विद्यालयलाई कक्षा ११ परीक्षा गरिसक्न निर्देशन दिएको छ । बैतडीमा तीन हजार ६५५ जना कक्षा ११ का परीक्षार्थी रहेका एकाइले जनाएको छ ।

कोभिड अस्पताल सञ्चालनमा ढिलाइ

कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन बढिरहेका भए पनि बैतडीका नौ वटा स्थानीय तहमा सञ्चालनमा आउने भनेका अस्थायी कोभिड अस्पताल सञ्चालनमा ढिलाइ भएको छ । आवश्यक चिकित्सक र प्रक्रियामा ढिलाइ हुँदा सञ्चालनमा आउन सकेका छैनन् ।

स्थानीय तहले अस्थायी कोभिड अस्पतालका सञ्चालनका लागि प्रक्रिया शुरु गरेका भए पनि सञ्चालनमा आउन केही दिन लाग्ने बताइएको छ । सङ्घीय सरकारले अस्पताल नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि बजेट पठाइसकेको छ । जिल्लाका नौ स्थानीय तहमा पाँच बेडका अस्थायी कोभिड अस्पताल निर्माणका लागि सङ्घीय सरकारले बजेट पठाएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माणका लागि १० लाखका दरले बजेट पठाइएको छ । बैतडीमा दशरथचन्द नगरपालिका बाहेकका सबै स्थानीय तहमा पाँच बेडका अस्थायी कोभिड अस्पताल निर्माण हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

ती अस्पतालमा एक चिकित्सक, दूई स्टाफ नर्स र एक जना कार्यालयको सहयोगीको दरबन्दी भए पनि चिकित्सक भने पाइएका छैनन् । धेरैजसो स्थानीय तहले दोस्रो पटकसम्म आवेदन खुला गर्दासमेत चिकित्सक नपाएको बताएका छन् । अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि दुईपटक चिकित्सकको लागि आवेदन खोलेको भए पनि कसैको आवेदन नपरेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology