• Sunday 2nd of August 2026

मादल व्यवसाय सङ्कटमा


  • गोकर्णेश्वर अनलाइन

चितवनको इच्छाकामना–५ मुग्लिनका सूर्यबहादुर परियारको पसलमा चाडवाडको समयमा दैनिक ५० भन्दा बढी मादल बिक्ने गथ्र्यो । जब चाडवाड नजिकिन्थ्यो उहाँको मादल पसलमा ग्राहक लाइन लाग्ने गथ्र्योे । काठमाडौँ, पोखरा र नारायणगढ जाने मुग्लिन बजारको चोकमा रहेको उहाँको पसलमा देशभरका ग्राहक आउने गर्थे । केही वर्षयता उहाँको पसलमा चाडवाडको बेलामा समेत मादल कमै बिक्री हुने गरेको छ । चाडवाड बाहेक अरु बेला त मादल बिक्री नै नहुने परियारको भनाइ छ । उहाँले भन्नुभयो, “केही वर्षयता मादल बिक्नै छाडेको छ, चाडवाडको बेला अलीअली बिक्ने गरे पनि अन्य समयमा बिक्री हुँदैन ।”

झण्डै २० वर्षदेखि गर्दै आएको आफ्नो मुख्य पेशा धरापमा परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो रोजीरोटी यही हो, यसरी मादल नै बिक्न छाडेपछि दैनिक घरायसी खर्चसमेत धान्न गाह्रो भएको छ, यसले चिन्तित बनाएको छ ।” पेशा नै परिवर्तन गर्ने सोचमा रहेको उहाँले बताउनुभयो । परियार आफैँ मादल बनाउने गर्नुहुन्छ । उहाँले बनाएको मादल देशका विभिन्न बजारमा व्यवसायीले लैजाने गर्छन् ।

मादलको व्यापार घट्नुको प्रमुख कारण गाउँघरमा विवाह व्रतबन्ध देउसी भैलोमा ‘स्पिकर’ साउन्ड सिस्टमको प्रयोग रहेको मादल व्यासयीको भनाइ छ । अर्का मादल व्यवसायी विष्णु अर्याल पनि मादल बिक्न छाडेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मेला, बजार र देउसीभैलोमा मादल बजाउने क्रम घटेको छ , गाउँघरमा पनि प्रायः अत्याधुनिक स्पिकर र साउन्ड सिस्टमको प्रयोग गरेर रमाइलो गर्न थालिएको छ, मेहनतअनुसारको मूल्य पाउन पनि छोडको छ ।” पछिल्ला वर्षमा मादल व्यवसाय धरायसी बन्दै गएको बेला कोरोना महामारीका कारण झन् सङ्कटमा परेको मादल व्यावसायीहरु बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology