• Sunday 2nd of August 2026

प्रदेश सरकारबाट पोखरामा अमेरिकी ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे शुरु


  • गोकर्णेश्वर अनलाइन

गण्डकी प्रदेश सरकारले पोखरास्थित पर्यटकीय क्षेत्र लेकसाइडबाट सडक स्तरोन्नति गरी अमेरिकी प्रविधि ‘अस्फाल्ट’ कालोपत्रे शुरु गरेको छ । यातायातको बढी चाप हुने बजार क्षेत्रमा खाल्डाखुल्डी परेर बर्सेनि सडक जीर्र्ण भएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका तथा डिभिजन सडक कार्यालयले क्षेत्र विभाजन गरी मुख्य शहरी क्षेत्रको २५ किमी सडकलाई अस्फाल्ट प्रविधिबाट कालोपत्रे शुरु गरेका हुन् । प्रदेश सरकारले मुस्ताङचोक, शहीदचोक, हल्लनचोक हुँदै जिरो किमीसम्मको पाँच किमी १५० मिटर सडक कालोपत्रे गर्न शुरु गरेको हो ।

सो सडक अस्फाल्ट कालोपत्रेका लागि रु नौ करोड ७८ लाख १३ हजार ६६७ लागतमा ठेक्का सम्झौता गरिएको पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डिभिजनल इञ्जिनीयर दिनेश घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी पुस मसान्तसम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि निर्माण कम्पनी इलाइट मोटिडान जेभी काठमाडौँले काम गर्दा केही व्यवधान नआएको खण्डमा मङ्सिरभित्रै सक्ने प्रतिबद्धता जनाएको छ । हाल भइरहेको कालोपत्रे सडकमाथि नै अस्फाल्ट कालोपत्रे बिछ्याइएको छ ।

महानगरपालिकाले भने दशैँ अघिदेखि नै काम शुरु गरेको थियो । महानगरले १४ किमी सडक अस्फाल्ट कालोपत्रेका लागि रु १७ करोड लागतमा ठेक्का सम्झौता गरिएको जनाएको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मङ्गलबार कालोपत्रे गर्ने कार्यको एक कार्यक्रमका बीच शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री बस्नेतले निर्धारित समयमा गुणस्तरीय कार्य गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो । अस्फाल्ट प्रविधिको प्रयोग गरी सडक स्तरोन्नतिका लागि पोखराको अन्यत्रबाट समेत माग आएको बताउँदै उहाँले आगामी वर्षमा सो कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अस्फाल्ट प्रविधिबाट सडक कालोपत्रे गर्दा सडक बलियो हुने र कम्तीमा पाँच वर्ष सडकमा खाल्डाखुल्डी नपर्ने दावी गरिएको छ । पिचको मोटाइ पाँच सेमीको हुने पूर्वाधार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology