• Sunday 2nd of August 2026

अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ बनाउँदै तनहुँका स्थानीय तह


  • गोकर्णेश्वर अनलाइन

दमौली, ४ मङ्सिर (रासस) : तनहुँका स्थानीय तहले अग्ला डाँडामा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरेका छन् । पर्यटक आकर्षित गर्ने उद्देश्यसहित जिल्लाका स्थानीय तहले कतिपय स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेका छन् भने थप स्तम्भ निर्माणको प्रक्रिया शुरु गरेका छन् ।

घिरिङ गाउँपालिकाले थप दुई स्थानमा दृश्यावलोकन स्तम्भ निर्माण गर्ने भएको छ । घिरिङकोटको डाँडामा दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेको गाउँपालिकाले थप दुई स्थानलाई छनोट गरी प्रक्रिया अगाडि बढाएको छ ।

राजमार्गलाई नछोएकाले पर्यटनको सम्भावना हुँदासमेत ओझेलमा परेपछि घिरिङ गाउँपालिका–३ घिरिङकोट डाँडामा तीनतलाको दृश्यावलोकन स्तम्भ निर्माण भएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा छुट्याएको रु २० लाखको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिनुभयो ।

भ्यूटावरबाट समग्र घिरिङको दृश्यावलोकन गर्न सकिने राना बताउनुहुन्छ । त्यहाँबाट देखिने हिमश्रृङ्खला, हरियाली पहाडका तरेली, कालीगण्डकी नदीको नागबेली बगाई, झुरुप्प परेका घिरिङका गाउँबस्तीको दृश्यले आकर्षित गर्ने उहाँको दाबी छ ।

“घिरिङ चौबिसे राज्यअन्तर्गतको एक राज्य हो । घिरिङकोटमा राजाले प्रयोग गरेका पुराना हातहतियार र दरबारको भग्नावशेष छ । ऐतिहासिक थलोमा पर्यटकको चहलपहल बढाउन सो स्तरम्भ बनाएका छौँ”, अध्यक्ष रानाले भन्नुभयो । गाउँबाट शहर बसाइँ झर्नेको लर्को रोक्न गाउँपालिकाले स्थानीयवासीलाई आर्थिक गतिविधिसँग जोड्न पर्यटनको प्याकेज निर्माण गरिरहेको उहाँले बताउनुभयो । “कला संस्कृतिमा त हामी धनी नै छौँ । पर्यटक आउनलाई पूर्वाधार पनि चाहिँदोरहेछ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले खोला थुनेर कृत्रिम ताल, भ्यूटावर र घरवास (होमस्टे) बनाउन जोड दिएको छ ।”

गाउँपालिकाको वडा नं २ गजरकोट र वडा नं ५ को चन्द्रकोटमा पनि भ्यूटावर बनाउन यस वर्ष बजेट विनियोजन गरिएको छ । गजरकोट स्तम्भका लागि रु १० लाख र चन्द्रकोटमा रु २० लाख बजेट छुट्याइएको अध्यक्ष रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बहुवर्षीय योजना हो, अपुग भएको बजेट आगामी वर्ष पनि थपिन्छ ।”

घिरिङकोट दृश्यावलोकन स्तम्भको काखैमा छ उवाथोक गाउँ । मगर समुदायको बसोबास रहेको उवाथोकका आठ घरमा यसै वर्षदेखि होमस्टे सञ्चालनमा ल्याइएको छ । भ्यूटावर बनेपछि होमस्टे आउने पर्यटक बढ्नेमा विश्वस्त रहेको उवाथोक सामुदायिक होमस्टेका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो । कोरोना कहरकै बीचमा पनि भ्यूटावरमा पर्यटक आइरहेको उहाँले बताउनुभयो ।

“यतिबेला कोरोनाको डरले होमस्टेमा पाहुना राखेका छैनौँ । दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको देख्दा होमस्टेमा पनि पाहुना बढ्नेमा आशावादी छौँ”, उहाँले भन्नुभयो । हुन त नेपालका अग्ला डाँडाकाँडा आफैँमा प्राकृतिक भ्यूटावर हुन् । हिमालदेखि तराईसम्मका दृश्य एउटै थलोमा उभिएर नियाल्न सकिन्छ कतिपय स्थानबाट । पूर्वाधार अभावले ती अग्ला डाँडाबाट जतिसुकै मन लोभ्याउने दृश्य देखिए पनि पर्यटक उक्लन चाहँदैनन् । जनप्रतिनिधि निर्वाचित भएर आएपछि तनहुँका स्थानीय सरकारको नजर अग्ला डाँडामा परेको छ ।

दशैँपछि तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट ‘भाइरल’ बनेको छ । फेसबुक र टिकटकमा मानहुँकोटको फोटो र भिडियो सर्वत्र भेटिन्छ । कोरोनाको डर भुलेर दमौली बजारलाई कुहिरोले ढपक्कै ढाकेर सूर्य उदाएको दृश्य नियाल्न दैनिक एक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोटसम्मको उकालो चढ्छन् । प्राकृतिकरुपमै भ्यूटावर बनेको यो ठाउँमा अझ धेरै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न वडा कार्यालयले दृश्यावलोकन विन्दु निर्माण शुरु गरेको छ ।

करिब रु ४० लाखको लागत अनुमान गरिएकामा रु ३६ लाख ५० हजार लागतमा दृश्यावलोकन विन्दु निर्माणको ठेक्का लागेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । निर्माणको ठेक्का माता वाराही कन्स्ट्रक्शन प्रालिले पाएको छ । दृश्यावलोकन विन्दु दुईतलाको हुने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दृश्यावलोकन विन्दुको पहिलो तलामा कफी पसल र माथिल्लो तलामा सिसाको घर हुनेछ ।” अबको छ महिनाभित्र दृश्यावलोकन विन्दु निर्माण सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । पर्यटकीय गन्तव्यका रूपमा विकसित मानहुँकोटको प्रचारका लागि दृश्यावलोकन विन्दुले थप टेवा पु-याउने उहाँको भनाइ छ ।

गत आर्थिक वर्षमा व्यास नगरपालिका–६ गलेखामकोटमा तीनतले भ्यूटावर निर्माण गरिएको छ । धार्मिक पर्यटनको सम्भावना रहेको यहाँ पर्यटक भित्र्याउन भ्यूटावर निर्माण गरेको वडाध्यक्ष सूर्यभक्त भण्डारीले बताउनुभयो । रु १६ लाख ५० हजारको लागतमा निर्माण गरिएको उक्त भ्यूटावरबाट २० जना बढीले दृश्यावलोकन गर्न सक्ने भण्डारीले जानकारी दिनुभयो ।

भ्यूटावर बनेपछि गलेखामकोटमा आन्तरिक पर्यटक बढेको भण्डारीले जानकारी दिनुभयो । “लकडाउनको बेलामा पनि आन्तरिक पर्यटक आइरहे”, उहाँले भन्नुभयो । यहाँबाट कास्कीका तालहरु, माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्ण, मनास्लुलगायतका हिमालको दृश्य अवलोकन गर्न सकिने भण्डारीले जानकारी दिनुभयो ।

गलेखामकोटमा रहेको कोटभैरव मन्दिरको प्रचारप्रसारका लागि पनि दृश्यावलोकन स्तम्भले सहयोग पुग्ने विश्वास गरिएको वडाध्यक्ष भण्डारीको भनाइ छ । “गलेखामकोट आफैँमा एउटा पर्यटकीयस्थल हो”, भण्डारीले भन्नुभयो, “दृश्यावलोकन स्तम्भ निर्माणपछि यस क्षेत्रमा पर्यटकीय चहलपहल अझै बढ्ने अपेक्षा गरेका छौँ ।”

समुद्र सतहबाट दुई हजार २०७ मिटरको उचाइमा रहेको गलेखामकोट बाइसे चौबिसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको ठाउँ हो । यहाँ रहेको कोटभैरव मन्दिरमा दशैँको बेला विशेष पूजाआजा हुने गरेको छ । पर्यटकीय सम्भावना बोकेर पनि यस ठाउँमा ओझेलमा पर्दै गएको स्थानीयवासीको गुनासो छ । स्थानीयवासी राजकुमार श्रेष्ठले ओझेलमा परेको यस ठाउँमा दृश्यावलोकन स्तम्भ निर्माण भएपछि अब यसको प्रचारप्रसार हुने विश्वास गरिएको बताउनुभयो । “यस ठाउँ आफैँमा पनि छुट्टै विशेषता बोकेको ठाउँ हो, तर यसको पर्याप्त प्रचारप्रसार हुनसकेको छैन”, श्रेष्ठले भन्नुभयो, “दृश्यावलोकन स्तम्भले यस ठाउँको प्रचार हुनेमा विश्वस्त छौँ ।”

भिमाद नगरपालिका–९ पाइमी डाँडामा पनि गत वर्ष दृश्यावलोकन स्तम्भ निर्माण गरिएको छ । एक हजार १५७ मिटर उचाइमा रहेको डाँडामा तीनतलाको दृश्यावलोकन स्तम्भ बनाइएको हो । करिब ३६ फिट अग्लो फलामे दृश्यावलोकन स्तम्भ निर्माणमा रु आठ लाख लगानी भएको छ ।

नगरपालिकाले रु छ लाख ७५ हजार र स्थानीयवासीले रु एक लाख २५ हजारको जनश्रमदान चन्दा सङ्कलनबाट दृश्यावलोकन स्तम्भ निर्माण भएको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिनुभयो । दृश्यावलोकन स्तम्भको आडमै कोटडाँडा मन्दिर पनि छ । यहाँ विशेष चाडपर्वमा पूजाआजा हुने गरेको छ । यस ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न दृश्यावलोकन स्तम्भ निर्माण गरिएको थापाले बताउनुभयो । सोही वडामा रहेको सिद्धगुफा आउने पर्यटकलाई यस ठाउँसम्म ल्याउने वातावरण सिर्जना गरिने थापाले बताउनुभयो ।

व्यास नगरपालिका–१० को सबैभन्दा अग्लो ९०० मिटर उचाइ रहेको देवीडाँडामा पनि दृश्यावलोकन स्तम्भ निर्माण गर्ने लक्ष्य राखिएको छ । प्रचुर सम्भावना रहे पनि यस ठाउँ पछाडि परेकाले यसको विकासका लागि भ्यूटावर र व्यवस्थित उद्यान बनाउने योजना अगाडि सारिएको वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो ।

उक्त ठाउँमा ३० मिटर उचाइको भ्यूटावर बनाउने लक्ष्य राखिएको छ । यस ठाउँबाट दमौली उपत्यका, मिर्लुङकोट, छिम्केश्वरी डाँडा, तनहुँसुर दरबार, क्यामिनकोट, श्याम्घाको गलेखामकोट, मानहुँकोट, मादी उपत्यका, कलेस्ती उपत्यका, फराकचौर उपत्यका, गजौडे उपत्यकाका साथै कास्कीको नेपालपाखाको समेत दृश्यावलोकन गर्न सकिने वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

वडाले यस ठाउँलाई फूलैफूलको डाँडा बनाउनेसमेत लक्ष्य राखेको छ । “यस ठाउँमा भ्यूटावर र व्यवस्थित पार्क बनाउन सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ”, उहाँले भन्नुभयो, “त्यसैका लागि वडा कार्यालयमार्फत काम शुरु भइसकेको छ ।”

वडाले गत आर्थिक वर्षको बजेटबाट डाँडासम्म पुग्नका लागि एक किलोमिटर बाटो विस्तार गरिसकेको छ । उक्त ठाउँमा रुद्रदेवीको मन्दिरसमेत रहेको छ । जुन मन्दिर जीर्ण भइसकेको छ । वडा कार्यालयले मन्दिरको जीर्णोदार गर्ने तयारीसमेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology