• Sunday 2nd of August 2026

गाउँपिच्छे सडकः छैनन् पुल


  • गोकर्णेश्वर अनलाइन

– रामबहादुर थापा

वर्षायामभरि तमानखोला गाउँपालिकाको यातायात ठप्प हुन्छ । हिउँदमा खोलानाला घटेर सवारी चले पनि जोखिमपूर्ण यात्रा गर्नुपर्छ । गाउँँपिच्छे सडक पुगे पनि पुल छैनन् । पुल नहुँदा चालक र यात्रुलाई सास्ती छ । गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि १५ किमि दूरीमा रहेको नर्जा पुग्न छ ठाउँमा खोला तर्नुपर्छ । वडा नं ३ को तमान गाउँ र २ को बोङ्खानी जाँदा पनि दुई÷दुई पटक खोला भेटिन्छ । तमान, बोङ्गा र नर्जाखोला छेउछाउ भएर गएका सडकले सिङ्गो गाउँपालिकालाई यातायातको सञ्जालमा जोडेका छन् ।

सडक विस्तार तीव्र भएपनि बाह्रैमास यातायात सहज छैन । त्यसो हुनुको एउटै कारण हो खोलामा पुल नहुनु । वर्षायाममा त गाउँपालिका जोड्ने बुर्तिबाङ–बोङ्गादोभान सडक पनि रोकिन्छ । मध्यपहाडी लोकमार्गदेखि उक्त सडकको दूरी जम्मा दश किमि छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण जिम्मा लिएको उक्त खण्डका दुई पुल अझै निर्माणाधीन अवस्थामा छन् । ढोरपाटन नगरपालिका–४ को हुन्द्राफेदी र तमानखोला–२ को भालिबाङमा पुल बनेपछि बोङ्गादोभानसम्मको यातायात सहज बन्ने छ ।

ती पुल आउँदो वर्षायामसम्म बनाइसक्ने प्राधिकरणको लक्ष्य छ । समयमा पुल नबने तमानखोलावासीको सास्ती फेरि दोहोरिने पक्का छ । गाउँपालिका अध्यक्ष जोकलाल बुढाले पुल निर्माणमा ढिलाइ हुन नहुने बताउनुभयो ।

“ती दुई पुल बन्दा गाउँपालिका केन्द्रसम्म बाह्रैमास यातायात चल्छ”, उहाँले भन्नुभयो, “अहिले खोला घटेकाले हिम पाइप राखेर त्यहीमाथिबाट सवारी चल्ने बनाएका छौँ ।” प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का इञ्जिनीयर हरिशचन्द्र बडुले तोकिएको समयसीमामै पुल बन्ने बताउनुभयो ।

उहाँका अनुसार हुन्द्राफेदीमा बनिरहेको लुकुरवन खोला पुलको काम ५० प्रतिशत सकिएको छ । आउँदो चैतभित्रै उक्त पुल सञ्चालनमा आउने छ । रु तीन करोड ६६ लाखको लागतमा निर्माण कम्पनी कर्ण–प्रदीप–जुम्लीले पुल बनाइरहेको छ । अघिल्लो मङ्सिरदेखि उक्त पुलको काम शुरु भएको थियो ।

यस्तै भालिबाङ खोला पुल पनि आउँदो असारभित्रै सक्ने गरी निर्माण कम्पनी नयाँबाटो–सूर्योदय–जिएस–जुम्लीले जिम्मा लिएको छ । रु चार करोड ४२ लाख लागत रहेको उक्त पुलको काम पनि धमाधम भइरहेको इञ्जिनीयर बडुले बताउनुभयो । गत असोजदेखि निर्माण थालिएको पुलको सम्झौता अवधि जम्मा ९ महिना छ ।

“आउँदो वर्षायामअगावै दुवै पुल सञ्चालनमा आउँछन्, निर्माण कम्पनीले पनि समय तालिकाअनुसार नै काम गरिरहेका छन्”, इञ्जिनीयर बडुले भन्नुभयो । बुर्तिबाङ–बोङ्गादोभान सडकस्तरीकरणको काम पनि प्राधिकरणले नै गरेको हो । सडक राम्रो भएपछि अहिले पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि आधा घण्टामै तमानखोला पुग्न सकिन्छ ।

अध्यक्ष बुढाले गाउँपालिकाका अन्य ठाउँमा पनि पुल निर्माणका लागि प्रदेश र सङ्घ सरकारसँग माग गरिएको बताउनुभयो । धेरै ठाउँमा पुल बनाउनुपर्ने भएकाले गाउँपालिकाको स्रोतले मात्र नधान्ने उहाँको भनाइ छ । सडकलगायत पूर्वाधार विकासमा गति लिइरहेको तमानखोलामा पुलको खाँचो छ । “पुल बनेर बाह्रैमास यातायात चल्ने अवस्था आएमा स्थानीयवासीको दैनिकी थप सहज बन्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology