• Sunday 2nd of August 2026

विद्यालयबाट होल्डिङ सेन्टर स्थानान्तरण


  • गोकर्णेश्वर अनलाइन

झापाको काँकडभिट्टा नाका हुँदै भारतबाट प्रवेश गर्नेको कोभिड–१९ सम्बन्धी जाँच, उद्धार र अभिलेख व्यवस्थापनका लागि सञ्चालनमा रहेको होल्डिङ सेन्टर विद्यालयबाट स्थानान्तरण गरिएको छ ।

गत वैशाखदेखि काँकडभिट्टा माध्यमिक विद्यालय परिसरमा सञ्चालित होल्डिङ सेन्टरमा नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली रहँदै आएको थियो । होल्डिङ सेन्टरका सबै संरचना मङ्गलबार हटाइएको छ ।

विद्यालयबाट स्थानान्तरण गरिएको होल्डिङ सेन्टरलाई मेची पुलबाट भन्सार परिसरसम्मको खुला ठाउँमा स्थानान्तरण गरिएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो ।

“नाकाबाट होल्डिङ सेन्टर हटाइएको होइन, स्थानान्तरण गरिएको हो”, उहाँले भन्नुभयो, “विद्यालयमा पठनपाठन हुने भएको हुँदा त्यहाँ होल्डिङ सेन्टर राख्न उपयुक्त भएन ।” विद्यालय प्रशासनले पठनपाठन शुरु गर्न ढिला भइसकेको जनाउँदै होल्डिङ सेन्टर हटाउन माग गर्दै आएको थियो ।

कोभिड–१९ को महामारीका कारण गत चैत ११ गते मुलुकभर बन्दाबन्दी शुरु भएपछि मुलुककै प्रमुखमध्येको काँकडभिट्टा नाकाबाट आउने नेपालीहरुलाई व्यवस्थित गर्न होल्डिङ सेन्टर स्थापना गरिएको थियो । अझसम्म सीमानाका बन्दको अवस्थामा छ । यस्तो बेलामा भारतबाट सीमासम्म आइपुगेका नेपालीलाई उद्धार गरेर होल्डिङ सेन्टरमा ल्याउने र उनीहरुको पिसीआर परीक्षण भए गन्तव्यसम्म जान अनुमति दिने कार्यमा होल्डिङ सेन्टरले सहजीकरण गर्दै आएको छ ।

प्रहरी नायब उपरीक्षक पोखरेलले भारतमा पढ्न गएका र जागिर खान गएका नेपालीहरु आउने क्रम जारी रहेको जनाउँदै भारतबाट आँखाको उपचारका लागि नेपाल आउने भारतीयको सङ्ख्या पनि धेरै रहेको बताउनुभयो । भारतमा रोजगारी, अध्ययन र उपचारका लागि जाने नेपालीहरुको सङ्ख्या पनि उल्लेख्य रहेको उहाँले जानकारी दिनुभयो ।

यसैबीच काँकडभिट्टाका होटल र ट्राभल व्यवसायीलगायतले होल्डिङ सेन्टर हटाउनुपर्ने र नाका खुला गर्नुपर्ने माग राख्दै विगत एक सातादेखि काँकडभिट्टा बजारमा प्रदर्शन गर्दै आएका छन् । ट्राभल सङ्घ झापाका अध्यक्ष नेत्र कार्कीले नाका नखुल्दा हजारौँ होटल र पर्यटन व्यवसाय धराशायी भएको बताउनुभयो । अरु सबै क्षेत्र खुला भइसक्दा नाका पनि खुल्नुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology