• Saturday 25th of July 2026

अब भौतिक उपस्थितिमा पढाइ


  • गोकर्णेश्वर अनलाइन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न निर्देशन दिइएकोे जानकारी दिनुभयो । कोभिड–१९ का कारणले त्रिविको गत चैतदेखि परीक्षा र पढाइ सञ्चालन हुनसकेको छैन ।

परीक्षा भने छठलगत्तै हुन थालेको छ । “कोभिड–१९ सङ्क्रमणको जोखिम नभएको ठाउँमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन भइरहेका छन्”, उहाँले भन्नुभयो, “अन्य ठाउँमा पनि सङ्क्रमणको अवस्था हेरेर स्थानीय तहसँग स्वीकृत लिएर कक्षा सञ्चालन गर्न भनेको छौँ ।”

रजिष्ट्रार दाहालले भौतिक उपस्थिति हुन नसक्ने क्याम्पसलाई वैकल्पिक विधि प्रयोग गरेर नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार स्नातकोत्तर तहको पढाइ भने भर्चुअल विधिबाट भए पनि स्नातक तहको कक्षा भने भएका छैनन् ।

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीका अनुसार कार्यकारी परिषद्को बैठकले त्रिविअन्तर्गतका सबै क्याम्पस विभाग, स्कूलले स्थानीय तहले तोकेको समयसीमा र मापदण्डभित्र रहने गरी स्थानीय तहसँग समन्वय गरी सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालन गर्ने र सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गरी नियमित कक्षा सञ्चालनको व्यवस्था गर्न सबै क्याम्पसलाई अनुरोध गरेको थियो ।

२८ गतेदेखि परीक्षा

यसैगरी त्रिविले यही मङ्सिर २८ गतेदेखि कोभिड–१९ को कारणले रोकिएका सबै परीक्षा शुरु गर्ने जनाएको छ । कोभिड–१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको हो । परीक्षा नियन्त्रण कार्यालय सहनियन्त्रक धनश्याम ठाकुरले पहिलो चरणमा स्नातक तहको परीक्षा गर्न थालिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यही मङ्सिर २८ गते विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन सङ्कायको चौथो वर्षका परीक्षा हुँदैछन् । उहाँले पहिलो चरणको परीक्षा सकाएपछि स्नातकोत्तर तहको माघ र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने बताउनुभयो । त्रिविले यसपटक विद्यार्थीलाई आफूलाई पायक पर्ने ठाउँबाट पनि परीक्षा दिनसक्ने व्यवस्था मिलाएको छ । उहाँका अनुसार कम विद्यार्थी भएका सेमेष्टर तहका परीक्षा भने भइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology