• Sunday 2nd of August 2026

“पुल बन्यो, अब बिरामी हुँदा डोकोमा बोकेर ल्याउनु पर्दैन”


  • गोकर्णेश्वर अनलाइन

“सेती नदीमाथि पक्की पुल नहुँदा कोही बिरामी परे डोकोमा बोकेर ल्याउनुपथ्र्यो,” तनहुँको ऋषिङ गाउँपालिका–४ गुम्लेकका बुद्धराज मल्ल विगत सम्झदै भन्नुहुन्छ, “दुई घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यता थियो । झोलुङ्गे पुलबाट बोकेरै तारेपछि मात्रै गाडीमा राखेर सदरमुकाम दमौली पु¥याउनुपथ्र्यो ।”

तनहुँको दक्षिणी भेगका रुपमा चिनिएको ऋषिङ गाउँपालिकाका विभिन्न वडाका बासिन्दालाई अब बिरामी हुँदा डोकोमा बोकिनु पर्दैन । व्यास नगरपालिका–१३ र ऋषिङ गाउँपालिका–१ जोड्ने सुढेस्थित सेती नदीमा पक्की पुल निर्माण भएसँगै यहाँका स्थानीयवासी बिरामी भएको अवस्थामा गाउँबाटै गाडीमा राखेर दमौली पु¥याउन सकिने भएको छ । “अब चाहिँ सहज हुने भयो, गाडीमा २०÷३० मिनेटमै पक्की पुलसम्म आइपुगिन्छ”, मल्लले भन्नुभयो, “दुःखका दिन सकियो ।” मल्लले ऋषिङपट्टिको सडक सफा गर्न आवश्यक रहेको जानकारी दिनुभयो । “पहिराले सडक अलिकति अप्ठ्यारो छ, त्यसलाई गाउँपालिकाले सफा गरिदिए हुन्थ्यो”, मल्लले भन्नुभयो ।

ऋषिङ गाउँपालिका–४ नाजुङका वीरबहादुर थापा पनि सेतीनदीमा पक्की पुल निर्माण भएपछि खुशी हुनुहुन्छ । “पुल नहुँदा कष्ट थियो, कृषिजन्य सामग्री पनि बोकेरै ल्याउनुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “अब त पुल बन्यो, गाडी पनि चल्छ, सहज हुनेभयो ।”

सङ्घीय सरकारको सडक डिभिजन कार्यालय तनहुँमार्फत उक्त पुल निर्माण सम्पन्न भएको हो । एक सय पाँच मिटर लम्बाइ रहेको उक्त पुल विसं २०७१ असार २९ गते निर्माण शुरु भएर २०७७ वैशाख ३० गते सम्पन्न भएको थियो । रु १० करोड ७१ लाख २७८ लागत रहेको उक्त पुलको ठेक्का भरतपुरस्थित एडभेन्चर कन्स्ट्रक्सन प्रालीले पाएको थियो । सो पुल हुँदै ऋषिङको दुवुङ, मौरीबास, नाजुङ, बैदी, अर्चले पुग्न सकिन्छ ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खामबहादुर मल्लले लामो समयको पर्खाईपछि बल्ल पुल निर्माण सम्पन्न भएकाले दक्षिणी भेगका बासिन्दालाई ठूलो राहत पुगेको बताउनुभयो । “पुल निर्माणका लागि विगतमा तीन पटकसम्म निर्णय गरेर तत्कालीन जिल्ला विकास समितिमार्फत पहल गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर खै के कारणले हो पुलको योजना पर्न सकेन ।” लामो समयको प्रयासपछि पुल निर्माणका लागि बजेट परेको र पुल पनि निर्माण सम्पन्न गर्न सकिएको उहाँले जानकारी दिनुभयो । “यो पुलले दक्षिणी भेगका बासिन्दाका लागि विकासको ढोका खुलेको छ”, उहाँले भन्नुभयो, “पैदल हिँडेर झोलुङ्गे पुलमार्फत आवतजावत गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।”

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ऋषिङतर्फको सडक साँघुरो रहेकाले गाउँपालिकाले त्यसलाई स्तरोन्नति गर्ने जानकारी दिनुभयो । “बाटो साँघुरो छ, केही ठाउँमा पहिराले अवरुद्ध पनि बनाएको छ, त्यसलाई तत्कालै स्तरोन्नति गर्छौं”, उहाँले भन्नुभयो । गाउँपालिकाले अबको गाउँसभाबाट रु ५० लाख बजेट विनियोजन गरेर बाटो स्तरोन्नति गर्ने श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology