• Sunday 2nd of August 2026

खोलामा पुल नहुँदा सास्ती


  • गोकर्णेश्वर अनलाइन

सिरहाको धनगढीमाई नगरपालिका–१२ स्थित सरे खोलामा पुल नहुँदा सो क्षेत्रका स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षौंदेखि सरे खोलामा पुल नहुँदा धनगढीमाई–१२ र १४ का स्थानीयवासी जोखिमपूर्णरुपमा यात्रा गर्न बाध्य भएका हुन् ।

सुख्खा मौसममा भन्दा वर्षायामको समयमा खोला तर्न ठूलो समस्या भइरहेको सो क्षेत्रका स्थानीयवासीले बताएका छन् । पुल निर्माणका लागि पटकपटक आग्रह गरे पनि हालसम्म पुल निर्माण नभएको स्थानीय सीताराम महतोले बताउनुभयो ।

“काम विशेषले धनगढी, गोलबजारसम्म पुग्न यही खोलाबाट वारपार गर्नुपर्ने हुन्छ”, गडमे टोलका बासिन्दा रामसेवक महतोले भन्नुभयो, “वर्षात्को समयमा खोलामा धेरै पानी हुन्छ, ज्यान नै बाजीमा राखेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता हुने गरेको छ ।” खोलामा पुल नभएकाले गाउँदेखि टाढामा रहेको विद्यालय पुग्ने बालबालिका होस् वा सरकारी कार्यालय पुग्ने कर्मचारीलाई समेत ठूलै सकस भइरहेको उहाँको दुखेसो छ ।

सरे खोलामा पुल नहुँदा वर्षायामका बेला गाउँका बिरामीलाई अस्पतालसम्म लैजान असाध्यै कठिनाइ हुने गरेको महतोले बताउनुभयो । पुलको समस्याबारे पटकपटक जनप्रतिनिधिदेखि सांसद र मन्त्रीलाई सुनाए पनि उहाँहरुबाट आवश्वासनबाहेक केही नपाएको स्थानीयवासीको गुनासो छ ।

वडा नं १२ का वडाध्यक्ष राजु श्रेष्ठले सरे खोलामा पुल निर्माण गर्न डिपिआर तयार गरी बजेटका लागि सङ्घीय सरकार र प्रदेश सरकारमा पेश गरेको जानकारी दिनुभयो । उहाँले पुल निर्माणका लागि बढी रकम लाग्ने र नगरपालिकाको बजेटबाट नभ्याउने भएकाले बजेटका लागि सङ्घीय सरकार र प्रदेश सरकारलाई योजना पेश गरेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology