• Sunday 2nd of August 2026

सय वर्ष पार गर्दा पनि छैन नागरिकता


  • गोकर्णेश्वर अनलाइन

कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरी सक्नुभयो तर पनि उहाँसँग अहिलेसम्म पनि नागरिकता छैन । नागरिकता नहुँदा राज्यले दिने सेवा सुविधाबाट समेत उहाँ वञ्चित हुनुहुन्छ ।

“यो आश्रय लिएको नातिको पनि आर्थिक अवस्था कमजोर छ, मलाई राज्यले हेरेन”, उहाँले भन्नुभयो, “वृद्धभत्ता मात्र लिन पाए पनि बनिबुतो गरेर मलाई पाल्ने नातिलाई सहज हुनेथियो ।” श्रीमान्को पनि निधन भएपछि पछिल्लो पाँच वर्षदेखि एक्लो बन्नुभएकी छत्रमायालाई नातामा नाति पर्ने पदमबहादुर रानामगरले बनिबुतो गरेर संरक्षण गर्दै आउनुभएको छ । “आर्थिक अवस्था कमजोर भए पनि ज्याला मजदूरी गरेर उनीहरूले सकेको सहयोग गर्दै आएका छन् । सरकारले बूढेसकाल लागेपछि हेर्छ पालनपोषण गर्छ भन्ने सुनेको थिएँ तर मलाई वास्ता गरेनन्”, उहाँले भन्नुभयो, “नागरिकता बनाइदिए हुनेथियो मर्ने बेला भयो तर नागरिकता कस्तो हुन्छ थाहा छैन ।”

माइती पक्षका कोही पनि नहुँदा नागरिकता लिनबाट वञ्चित छत्रमाया यतिबेला राज्यले प्रदान गर्ने सेवा सुविधाबाट पनि वञ्चित हुँदै आउनुभएको स्थानीय एकराज पहाडीले बताउनुभयो । “सकेको पालनपोषण गरेको देखिन्छ । नागरिकता भए पाल्ने र पालिने दुवैलाई केही राहत मिल्ने थियो”, उहाँले भन्नुभयो । साविक हतपते गाउँ विकास समितिमा माइती रहेको र आफन्त नरहेको वृद्धाले बताउँदै आएको उहाँले जानकारी दिनुभयो ।

कमलामाई नगर प्रमुख खड्गबहादुर खत्रीले आफूले दशैँमा १०० वर्ष पार गरेको ज्येष्ठ नागरिकलाई सम्मान गर्ने क्रममा उहाँले नागरिकता नपाएको थाहा पाएको बताउनुभयो । उहाँलाई नागरिकता दिलाउन कमलामाईले प्रमुख जिल्ला अधिकारीसँग पहल गर्ने बताउनुभयो । यदि नागरिकता दिलाउन नसके पनि कमलामाईले संरक्षण गर्नुपर्ने ज्येष्ठ नागरिकका लागि संरक्षण गर्न नगरपालिकाले आवश्यक योजना बनाउने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले नागरिकतामा भर्नुपर्ने विवरणका आवश्यक प्रमाण पुगेमा उहाँले नागरिकता प्राप्त गर्नसक्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology