• Sunday 2nd of August 2026

ठूला ढुङ्गा नपाउँदा महाकाली पुल निर्माण प्रभावित


  • गोकर्णेश्वर अनलाइन

महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम ठूला ढुङ्गा नपाउँदा प्रभावित भएको छ । पुलसँगै गड्डाचौकीसम्म बन्ने छ लेनको पहुँच मार्ग कालोपत्र शुरु हुन थाले पनि पुलको चौतर्फी बन्ने बाँध निर्माणको काम भने ढुङ्गा नहुँदा रोकिएको छ ।

यहाँको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पुलको तटबन्ध बनाउन काम ढुङ्गाकै कारण रोकिएको निर्माण कम्पनीको गुनासो छ । सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा हेरिएको पुलको दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा रहेको छ । “नदीको पारि र वारि गरी दुवैतर्फ दुई हजार ७०० लम्बाइ भएको बाँध निर्माण गर्नुपर्ने ठेक्कामा उल्लेख छ”, पुल निर्माण गरिरहेको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी सिएफासीको संयुक्त लगानीका प्रबन्ध निर्देशक प्रेमकुमार श्रेष्ठले भन्नुभयो, “ढुङ्गा नपाउने हो भने आउँदो बर्सातमा पुल पुग्नसम्म बनाएको पहुँच मार्ग सबै नदीले बगाउने चिन्ता छ ।”

उहाँले ढुङ्गाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अन्य निकायसित समन्वय गरिरहेको बताउनुभयो । आठ सय मिटरको पुल भए पनि पुलको वारिपारि छ÷छ सय मिटर पहुँच मार्ग महाकाली नदीमै पर्छ । “पहुँच मार्गमा भर्ने काम सकेर अस्थायीरुपमा बनाए पनि बर्सातमा बाँध भएन भने पुल बीचमा झुण्डिने अवस्था छ”, श्रेष्ठले भन्नुभयो ।

त्यसैगरी कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनीका इन्जिनीयर किशोरराज पाण्डेयले बाँधका लागि एक लाख ४१ हजार घनमिटर ढुङ्गा आवश्यक पर्ने बताउनुभयो । “करीब ७० प्रतिशत ढुङ्गा २६० किलोग्रामभन्दा बढी तौलका चाहिन्छ”, इञ्जिनीयर पाण्डेयले भन्नुभयो, “पुलसम्म पुग्ने ६०० मिटर पहुँच मार्ग जोगाउन बाँध अति आवश्यक छ ।”

महाकाली पुलको हालसम्म ५७ प्रतिशत काम सकिएको छ । “पुलको मात्रै भन्ने हो भने ७० प्रतिशत काम सकिएको छ”, उहाँले भन्नुभयो, “पहुँच मार्गको सुरक्षा नै बाँधले दिने हो ।” उहाँले स्थानीयस्तरमा ढुङ्गाका लागि पहल गरिए पनि उपलब्ध हुन नसकेको बताउनुभयो । २०७४ साल भदौदेखि शुरु भएको निर्माणको अवधि आगामी २०७८ फागुन १२ गतेसम्म तोकिएको छ । रु तीन अर्ब ६७ करोडको लागतमा बन्ने पुलअन्तर्गत ७.८ किलोमिटर लम्बाइको छ लेनको पहुँच मार्ग पनि रहेको छ ।

पुलको दुवैतर्फ १.२ वर्गकिलोमिटर क्षेत्रफलका दुईवटा पोखरीसमेत निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । महाकाली पुल योजना कार्यालयका इञ्जिनीयर धु्रवकुमार झाले ढुङ्गाको समस्याको विषयमाथि मन्त्रालयसम्म पु¥याइएको बताउनुभयो । इञ्जिनीयर झाले भन्नुभयो, “निर्माण व्यवसायीले ढुङ्गा ल्याउन खोज्दा अवरोध भयो र हामीले फाइल माथि पठायौँ ।” उहाँले ढुङ्गा नहुँदा हाल निर्माण भएका पुलबाहेकका अन्य संरचना धरापमा पर्ने सम्भावना रहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology