• Sunday 2nd of August 2026

गिद्ध बढ्दै : प्रदेशकै गहनाको अवधारणा विकास


  • गोकर्णेश्वर अनलाइन

उदयपुरको पूर्वीक्षेत्रको बेलका नगरपालिका–७ को मैनामैनीस्थित सुगाचरी भिरक्षेत्रमा दुई वर्षदेखि नगरपालिकाले गिद्ध संरक्षण अभियान सञ्चालन गरेपछि अहिले सो क्षेत्रमा गिद्धको सङ्ख्यामा वृद्धि भएको छ ।

नगरपालिकाका अनुसार मैनामैनीको सुगाचरी भिर क्षेत्रमा पूर्वी क्षेत्रका पहाडी तथा तराईका जिल्लामा घुमन्ते गिद्धको लामो समयदेखि आश्रयस्थल रहेको र केही वर्ष अघिसम्म यस क्षेत्रमा पाँच वर्षसम्म गिद्ध रहेको भए पनि संरक्षण अभियान शुरु भएपछि अहिले करिब सात सय भन्दा बढी गिद्ध रहेका नगरपालिकाले बताएको छ ।

पहाडी जिल्ला खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुट्टा, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी सप्तरीलगायतका जिल्लामा घुमेर आहारा खोज्ने गरे पनि बेलुकी साँझपख बास बस्न मैनामैनीको सुगाचरी भिरमा नै आउने गरेका मैनामैनीका ७८ वर्षीय हर्कमान राई बताउनुहुन्छ ।

नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार यसक्षेत्रमा पाइने अति नै दुर्लभ प्रजातिका पक्षी गिद्ध संरक्षण गर्न नगरपालिकाले नयाँ योजनानै ल्याएर दुई वर्षदेखि संरक्षण अभियान अगाडि बढाएको छ ।

गिद्ध संरक्षण अभियानलाई अगाडि बढाएपछि अहिले दुई वर्षभित्र झण्डै दुई सयको हाराहारीमा गिद्ध वृद्धि भइसकेका पनि थापाले बताउनुभयो । गिद्ध संरक्षण गर्न बेलका क्षेत्रमा मरेका घरपालुवा जनावारलाई मैनामैनीको सुगाचरी क्षेत्रसम्म लगेर गिद्ध बसोवास गर्ने क्षेत्रमा राखिदिने कार्य नियमित गर्दै आएको नगरपालिकाले जनाएको छ । यस्तै गिद्धको प्रजातिको अध्ययन गर्न चरा विशेषज्ञसमेत झिकाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology