• Sunday 2nd of August 2026

बरेङ गाउँपालिकामा ‘एक वडा एक पुस्तकालय अभियान’ शुरु


  • गोकर्णेश्वर अनलाइन

पठन संस्कृतिको विकास र विद्यालय उमेरका बालबालिकाको सहयोगका लागि बरेङ गाउँपालिकाले ‘एक वडा एक पुस्तकालय अभियान’ शुरु गरेको छ । गाउँपालिकाका पाँचवटै वडामा एक÷एक पुस्तकालय स्थापना गर्न थालिएको हो ।
वडा तहमा छनोट भएका कुनै एक विद्यालयमा प्राथमिक पुस्तकालय स्थापना हुनेछ । पाठ्यक्रममा मात्रै आधारित सिकाइलाई व्यवहारिक बनाउनका लागि विद्यालयमा पुस्तकालय स्थापना गर्न थालिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । ‘‘शिक्षामा गरेको लगानी समाजको समग्र विकास हो’’, शर्माले भन्नुभयो, ‘‘पठन संस्कृति र व्यवहारिक ज्ञान पाठ्यक्रमले मात्रै पुग्दैन ।’’ शैक्षिक क्षेत्रमा सुधार र विस्तारको लागि समेत एक वडा एक प्राथमिक पुस्तकालय कार्यक्रम प्रभावकारी हुने उहाँले बताउनुभयो ।
गाउँपालिकाले छनोट भएका विद्यालयहरुबाट प्रस्ताव माग्नेछ । विद्यालयले नै ल्याएको प्रस्तावको आधारमा पाँच नयाँ पुस्तकालय बन्नेछन् । ‘‘विद्यालयमा भएको पुस्तकालयले विद्यार्थी र शिक्षक दुवैलाई सहयोग गर्छ’’, प्रमुख प्रशासकीय अधिकृत रमेश थापा भन्नुहुन्छ, ‘‘शैक्षिक सुधारको महत्वपूर्ण कडी पुस्तकालय हो ।’’ पुस्तकालय स्थापना गर्न कम्तीमा रु २० हजार गाउँपालिकाले विद्यालयलाई उपलव्ध गराउने विधि बनाएको छ ।
भवनको व्यवस्थापन भने विद्यालय आफैँले गर्नुपर्ने थापाले बताउनुभयो । विद्यालयका शिक्षक तथा विद्यार्थी समूहले पनि पुस्तकालय सञ्चालन गर्न सक्छन् । ‘‘पुस्तकाय विद्यालयमा भएपनि पाठ्यक्रम बाहिरका उपयुक्त पुस्तकहरु समेत त्यहाँ रहनेछन्’’, थापा भन्नुहुन्छ, ‘‘ससाना विद्यार्थीले पुस्तक हराउने तथा च्यातिने समस्या भएपनि चिन्ता मान्नु पर्दैन् ।’’
तत्कालका लागि एक वडा एक पुस्तकालय अभियान चलेको भएपनि हरेक विद्यालयमा पुस्तकालय सञ्चालन गर्ने योजनामा गाउँपालिका रहेको अध्यक्ष शर्माले बताउनुभयो । ‘‘अहिलेलाई प्राथमिक तहका विद्यालयलाई लक्षित गर्दै ज्ञानको दायरा थप फराकिलो बनाउने योजनाका साथ पुस्तकालय स्थापना हुँदैछन्’’, शर्मा भन्नुहुन्छ, ‘‘स्वअध्यनमा केन्द्रित गर्न यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा छ ।’’
पुस्तकालय सञ्चालनका लागि पालिकाले निर्धारण गरेको मापदण्ड पूरा गरेको विद्यालय तयार हुनु पर्नेछ । पाठ्यक्रम समयमा सक्ने र विद्यार्थीलाई पठन संस्कृतिप्रति प्रेरित गर्ने महत्वकांक्षी योजनासमेत गाउँपालिकाले बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology