• Sunday 2nd of August 2026

१०३ वर्षीया छत्रमायाले पाइन् नागरिकता


  • गोकर्णेश्वर अनलाइन

सिन्धुली, ४ पुस (रासस) : जिल्लाको कमलामाई नगरपालिका–१३ निवासी छत्रमाया मगरले नागरिकता प्राप्त गर्नुभएको छ । एकसय तीन वर्षका उमेरमा उहाँले जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार नागरिकता प्राप्त गर्नुभएको हो ।

उहाँलाई प्रमुख प्रशासकीय अधिकृत भीम बस्नेतले नागरिकता प्रदान गर्नुभएको हो । रुचानी निवासी छत्रमाया यसअघि नागरिकता नहँुदा राज्यले प्रदन गर्ने सेवासुविधाबाट वञ्चित हुँदै आउनुभएको थियो ।
राष्ट्रिय समाचार समिति (रासस)बाट गत मङ्सीर २२ गते ‘सय वर्ष पार गर्दा पनि छैन नागरिकता’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले समाचार पढेपछि आफूले वडाध्यक्ष किरण माझीलाई फोन गरेर वृद्धा आमाको विवरण बुझ्न आग्रह गरेकोे जानकारी दिनुभयो ।

“आवश्यक कागजपत्रसहित ती आमालाई पत्ता लगाएर जिल्ला प्रशासन कार्यालयमा लिएर आउन आग्रह गरेकामा आज आएकाले नागरिकता प्रदान गरेका हौँ ।” उहाँले भन्नुभयो, “विसं १९७४ माघ १५ गते जन्मनुभएकी छत्रमायाले १०३ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ ।” नागरिकता नहुँदा राज्यले दिने सेवासुविधाबाट वञ्चित हुनुभएकी छत्रमायाले अब वृद्धभत्ता प्राप्त गर्न बाटो खुलेको छ ।
पाँच वर्षअघि छत्रमायाका श्रीमान्को निधन भएको थियो । यसपछि उहाँलाई नाति पर्ने पदमबहादुर रानामगरले पालनपोषण गर्दै आउनुभएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology