• Sunday 2nd of August 2026

जाडोमा थुरथुर काम्दै रात कटाउन विवश छन् मुसहर


  • गोकर्णेश्वर अनलाइन

“भुठ्ठी हाथ, गोड ठिठुरगेल, कनि घुर सुन्गो न…” (भुठ्ठी हात, गोडा ठिङ्रिए, घुर बाल्न) महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरको मुसहरीटोलकी पारो सादाले छोरी भुठ्ठीलाई अराउनुभयो । ओढ्ने, ओछ्याउने र लगाउने न्यानो लुगा नहुँदा पुसको मुटु कमाउने जाडोमा थुर्थुरी काम्दै रात कटाउने मुसहरका लागि जाडो छल्ने साहारा नै टोलमा बालिने ‘घुर’ बन्ने गरेको छ ।

सडक गल्लीमा फालिएका प्लाष्टिक, झुत्रा कपडा र शितले भिजेका पतिङ्गर बटुलेर आगो सल्काइएको ‘घुर’मा पच्पची निस्कने गहनाउने धुवाँबीच चारैतिर बसेर न्यानो खोजी गर्नु जाडो महिनाभरि मुसहरको साँझ बिहानीको दैनिकी जस्तै बनेको छ । ‘न राख्ने धन, न साँच्ने अन्न’ आहानमा उभ्याइने गरिएका मुसहर अहिले थुरथुर मुटु कमाउने पश्चिमी सिरेटो लगातार बही रहेपछि न्यानो कपडा र पोसिलो खानेकुरा नहुँदा बाक्लो धुवाँको मुस्लो निस्कने ‘घुर’ (पातपतिङ्गर बटुलेर आगो बालिएको ठाउँलाइ यहाँ घुर भनिन्छ) वरिपरि बसेर न्यानो खोज्नु यी गरीबको विवशता हो ।

जिल्लाका मुसहरका लागि जाडोको साझा साहारा ‘घुर’ नै देखिन्छ । जिल्लामा बर्दिबास, भङ्गाहा, बलवा, औरही, गौशाला, लोहारपट्टी, मनराशिशवा र मटिहानीसहितका नगरपालिका र एकडारा, सोनमा, महोत्तरी र पिपरा मुसहरका सघन बसोबासका स्थानीय तह हुन् । यी जुनसुकै स्थानीय तहका मुसहर बस्ती पुग्दा थुरथुर जाडोले कामेका बालबालिका र वृद्धवृद्धा ‘घुर’ वरिपरि देखिन्छन् ।

ससाना पराले झुप्रा भएका बस्तीपिच्छे बालिएका ‘घुर’ नै मुसहरको जाडोबाट बच्ने उपलब्ध उपाय हो । खासगरी एकैठाउँ गुजुमुजु देखिने पराले झुप्रा बनाएर झुरुप्प बस्ने महोत्तरीका मुसहरका अतिरिक्त बाँतर, चमार, दुसाध, डोम, मेस्तर र खत्बेलगायतका दलित जाति समुदायको बस्तीमा पनि ‘घुर’ वरिपरि बूढाखाडा, बालबालिका र महिला एकैठाउँ हात फैलाएर न्यानो खोजी रहेका भेटिन्छन् । खासगरी मुसहर र बाँतर बस्तीमा ‘घुर’ को चलन बाक्लो देखिन्छ ।

किशोर र तन्नेरी यी बस्तीमा देखिँदैनन् । १३÷१४ वर्षको भएपछि कामका लागि भारतको पञ्जाव, हरियाणा जाने दलित बस्तीको आम प्रचलनले किशोर र तन्नेरी नदेखिएका हुन् । “बस्तीमा हाम्रा भाइ–भतिजा, छोरा छैनन् हजुर !” जिल्लाको भङ्गाहा–४ को मुसहर बस्तीको माझमा बालिएको ‘घुर’ छेउमा बसेका पाका उमेरका बदरिया सादाले लामो खोकीबीच नै भन्नुभयो, “उनीहरु त पञ्जाव गए’छन् ।” किशोर र तन्नेरीहरु पञ्जाव नगए मुखमा माड नलाग्ने बदरिया सादाको थप भनाइ छ ।

महोत्तरीसहितका पूर्वीमध्य तराईमा वर्षेनी हिउँदमा शीतलहरको कहर हुने गरेको छ । यस्तो बेला न्यानो कपडा लगाउन पर्ने, घर बाहिर ननिस्कने र पोसिलो र ताजा खानेकुरा खानपर्ने स्वास्थ्यकर्मी बताउँछन् । गरीबी र अशिक्षाले रुमलेको मुसहर, बाँतरसहितका दलित बस्तीमा यो सन्देश नपसेको महोत्तरीको बर्दिवास–१२ बिजलपुराको मुसहरीटोल नजिकका शिक्षण पेशामा रहनुभएका रमेश कोइराला बताउनुहुन्छ ।

दलित बस्तीका बासिन्दा राम्रो, मीठो खानुपर्छ र न्यानो लुगा लगाउनुपर्छ भन्ने थाहा भए पनि गरीबीले जुटाउन नसक्दा मात्र दुःख खेपिएको बताउँछन् । “न्यानो लुगा लगाउने, जाडोमा घर बाहिर ननिस्कने र पोषिलो र ताजा खानेकुरा खानुपर्छ भन्ने नसुनेको होइन नि हजुर !” जिल्लाको भङ्गाहा–४ पलारको बातरटोलकी सियान्की बाँतरले भन्नुभयो, “सबै कुरा पैसाले नै गर्ने रे’छ, अब जाडोमा बाहिर निस्कन सकिएको छैन, अब लालाबालाको मुखमा माड कसरी लाग्ला ?” पछिल्ला पाँच÷छ दिनयता चिसो बढेर बनिबुतो गर्न जान नसक्दा जाउलो खाने साधन घरमा रित्तिएको उहाँको थप भनाइ छ ।

लगातार बढेको जाडोबाट बच्न दलित बस्तीमा सल्काइएका ‘घुर’ ताप्दा त्यसबाट निस्कने विषाक्त धुवाँले श्वासप्रश्वासका बिरामी झन् थपिएका छन् । “चिसोमा त्यसै पनि ससाना बालबालिका, महिला र बूढापाकालाई निमोनियाले गाँज्ने गर्छ”, जिल्लाको बर्दिवासस्थित सरकारी अस्पताल बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा विधानचन्द्र झाले भन्नुभयो, “झन् धुवाँ रुमलिएको घुर ताप्न बस्दा श्वासप्रश्वासका बिरामी झन् बढ्ने नै भए ।” राम्ररी नसुकेको पतिङ्गर, झुत्रा सडकमा फालिएका चिथ्रा र प्लास्टिक बाल्दा त्यसबाट निस्केको धुवाँले यस्ता बिरामी अझ बढेका डा झाको निष्कर्ष छ । खासगरी दलित बस्तीका बूढापाका, सुत्केरी महिला र ससाना बालबालिकामा रुघाखोकी, हाडजोर्नी दुख्ने र श्वासप्रश्वासको समस्या बढेको जिल्लाका अस्पताल र स्वास्थ्य संस्थाले जनाएका छन् ।

गत मङ्सिर सकिएर पुस लागेयता जाडो झन् छिप्पिएको छ । जिल्लाको मध्य र दक्षिणी क्षेत्रमा पुस लागेयता घाम अक्कलझुक्कल मात्र देखिने गरेको छ । एकाबिहानैदेखि लगातार बगिरहेको चिसो सिरेटोले गर्दा बनिबुतो गरेर जीवन चलाउने गरीब श्रमिक सकसमा परेका छन् । चिसोले गरीब बस्तीलाई गाँज पनि जिल्लाका स्थानीय तहले भने राहतका कुनै कार्यक्रम चलाएका देखिँदैन । गरीब बस्तीमा बर्सेनी जाडोयाममा बिरामी हुने आम कुरा भए पनि सम्बद्ध निकायले यसको पूर्वतयारी गरेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology