• Sunday 2nd of August 2026

चन्दननाथ र काठमाडौंँ भगिनी सम्बन्धलाई औपचारिकता


  • गोकर्णेश्वर अनलाइन

जुम्लाको चन्दननाथ नगरपालिका र काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्य यहाँ आई चन्दननाथ नगर प्रमुख कान्तिका सेजुवालसँग औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरेर भगिनी स्थापना गर्नुभएको हो ।
दुई नगरका जीवन्त संस्कृति, सम्पदा, पर्यटकीय र पर्यावरण क्षेत्रको संरक्षण, प्रबद्र्धन, विकास एवं प्रचारप्रसारमा सहकार्य गरिने कामपा प्रमुख शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो,“काठमाडौँमा धेरै मूर्त तथा अमूर्त संस्कृति, सम्पदा छन् । मानवनिर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक शहर र कर्णालीको दुर्गम नगरपालिका चन्दनथानबीच भगिनी सम्बन्ध स्थापना गर्नु आफैँमा सकारात्मक छ । प्रकृति र पर्यावरणको समुचित सन्तुलनविना मानव समाजको अस्तित्व नै संकटमा पर्न सक्ने कुरालाई मनन गर्दै आपसी सहकार्य, ठोस योजना तथा नतिजामुखी क्रियाकलाप सञ्चालनका लागि साझेदारी गर्न भगिनी सम्बन्ध स्थापना गरेका हौँ ।” महानगरले यसअघि चीन एवं अन्य मुलुकका १६ शहर तथा स्वदेशका सिन्धुपाल्चोकको मेलम्ची र परासीको रामग्राम नगरपालिका(मङ्सिर १३)सँग भगिनी सम्बन्ध स्थापना गरी केही साझेदारीका काम अघि बढाएको छ । बङ्गलादेशको ढाका र पाकिस्तानको इस्लामावादसँग पनि केही महिनाभित्रै कामपाको भगिनी सम्बन्ध कायम हुने जनाइएको छ ।
कामपाले विश्वका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको स्मरण गराउँदै शाक्यले सङ्घीयतालाई सार्थक र थप बलियो बनाउन पछिल्लो समय स्वदेशकै नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास अघि बढाइएको बताउनुभयो ।
चन्दननाथसँग भगिनी सम्बन्ध स्थापनाले जुम्लामा उत्पादित बहुमूल्य जडिबुटी, स्याउ, सिमी, ओखरलगायत प्राङ्गारिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापन आदि विषयमा सहकार्य हुने जनाइएको छ ।
चन्दनथानका प्रमुख सेजुवालले स्रोतसाधनले सम्पन्न कामपासँग भगिनी सम्बन्ध स्थापना गर्न पाएकामा नगरवासी खुशी रहेको बताउनुभयो । भगिनी सम्वन्ध स्थापना गर्दै कामपाले चन्दननाथलाई रु डेढ करोड सहयोग गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको जनाइएको छ । कामपा उपप्रमुख हरिप्रभा ख्डगी तथा विभागीय प्रमुखसहितको टोली यहाँ आइपुगेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology