• Sunday 2nd of August 2026

दाङमा बट्टाइपालन व्यवसाय फस्टाउँदै


  • गोकर्णेश्वर अनलाइन

देउखुरी, ८ पुस (रासस) : दाङमा पछिल्लो समय व्यावसायिक कृषि कर्म गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ । राप्ती गाउँपालिका–२ लालमटियामा तीनजनाको संयुक्त लगानीमा ‘सुरवी बाख्रा तथा कुखुरा उत्पादन फार्म’ सञ्चालनमा छ । यसबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी हुँदै आएको छ । रु ५० लाखको लगानीमा दुई बिघा क्षेत्रफलमा खोर बनाएर विभिन्न जातका पशुपक्षी पाल्दै आएको सञ्चालक शङ्कर गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पाँच वर्षअघि तीनजना विभिन्न पेशामा आबद्ध व्यक्तिले कृषिमा केही गरौँ भन्ने लागेर शुरु गरेका हौँ ।” अहिले फार्ममा लोकल कुखुरा, फइटर, बेन्टन, सिल्की, लौकाट, वनकुखुरा, बट्टाइ, साखिने र लुइचे प्रजातिका चराहरु छन् ।सबैभन्दा धेरै बजारमा बट्टाइको माग हुन्छ, बट्टाइको बच्चा र अण्डा बिक्री हुने गरेको छ । दुईजना स्थानीयवासीलाई बट्टाइ मात्रै हेर्न काम दिएकोसञ्चालक गौतमको भनाइ छ ।

बट्टाइ र कडकनाथ जातको कुखुरा दाङमा नयाँ भएकाले पनि राम्रो व्यवसाय भएको उहाँको भनाइ छ । “बिक्रीका लागि कुनै समस्या छैन, उत्पादन गर्न सके जति पनि बिक्री हुन्छ”, उहाँले भन्नुभयो । बट्टाइको बच्चा उत्पादनका लागि ह्याचरी मेसिन राखेर आफँैले उत्पादन गरेका छौँ । यहाँ उत्पादन भएको बट्टाइ र कडकनाथ जातको कुखुरा महेन्द्रनगर, चितवन, कञ्चनपुर, डोटी, डोल्पालगायत धेरै जिल्लामा बिक्री हुने गरेको छ । उहाँले भन्नुभयो “दैनिक एक हजार ५०० बट्टाइँ बिक्री हुन्छ । बट्टाइको सानो एउटा बच्चा रु ५० मा र एक जोडी ठूलोलाई ३५० मा बिक्री हुने गरेको छ । बट्टाइ र लोकल कुखुराको मागअनुसार पु-याउन गाह्रो भएको छ ।”

बट्टाइको मासु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । विशेषगरी दमका रोगीका लागि निकै लाभदायक मानिन्छ । गर्मी महिनाभन्दा जाडो महिनामा यसको मासुको माग बढी हुन्छ । युरिक एसिड, मुटुरोग, बाथ रोग, हाडजोर्नीको समस्या भएका बिरामीका लागि यो लाभदायक हुन्छ । यसको मासु औषधिकै रुपमा प्रयोग हुन्छ । प्रोटिनलगायत विभिन्न तत्व प्रशस्त पाइने भएकाले विशेषरुपमा नै लिइन्छ । बट्टाइको अण्डा बालबालिकाको शारीरिक वृद्धिविकासका लागि निकै महत्वपूर्ण मानिन्छ ।

शान्तिनगर गाउँपालिका–१ की भविसरा घर्तीले करीब डेढ वर्षअगाडि बाट कृषि कर्ममा रमाउन थाल्नुभएको छ । उहाँले घोराही–१७ ओखरामा ‘भविष्य लक्ष्मी बहुउद्देश्य कृषि फार्म प्रालि’ स्थापना गरी व्यावसायिक लोकल कुखुरा, बदिया भाले, फाइटर कुखुरा, टर्की, बट्टाइ पाल्नुभएको छ । वार्षिक रु १५ हजार तिर्ने गरी पाँच कट्ठा जमीन भाडामा लिएर व्यवसाय थाल्नुभएको उहाँको फार्ममा अहिले करीब एक हजार ५०० बट्टाइ छन् । अण्डा, बच्चा तथा मासुका लागि बट्टाइ रहेको जानकारी गराउनुभयो । एक हजार ५०० मध्ये करीब ५०० अण्डा पार्ने बट्टाइ छन् ।

उत्पादित ४०० अण्डा दैनिकरुपमा घोराहीस्थित सहकारी बजारलगायत विभिन्न होटलमा निर्यात गर्ने गरेको उहाँले बताउनुभयो । “एउटा बट्टाइको अण्डालाई रु ६ का दरले बिक्री भएकोे छ भने एक क्यारेट अण्डालाई रु २०० मा बिक्री भएको छ । अहिले करीब ५०० साना बच्चा तयारी अवस्थामा छन्”, उहाँले भन्नुभयो । अहिले उहाँको फार्ममा लोकल कुखुरा पनि छन् । केही समयअगाडि मात्र एक हजार ३०० भन्दा बढी कुखुरा रु एक हजार ३०० का दरले ४० दिने लोकल कुखुरा सुर्खेतको एक स्थानीय तहमा पठाइसकेको र एउटा बदिया भालेलाई तीन हजारका दरले बिक्री गरेको घर्तीले जानकारी दिनुभयो ।

शान्ति बाल गृह संस्थामा कार्यरत उहाँ पाँच वर्षयता भने अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्चमा जोडिँदै आउनुभएको छ । घर्ती हाल मञ्चको उपाध्यक्षको पदमा कार्यरत हुनुहुन्छ । सामाजिक क्षेत्रमा काम गर्ने क्रममै कृषि क्षेत्रमा आकर्षित भएको उहाँले बताउनुभयो । “आगामी दिनमा व्यवसायलाई बढाउँदै लैजाने र यो व्यवसायलाई ठूलो बनाउँदै लैजाने सोच बनाएको छु”, उहाँले भन्नुभयो, “केही समयमै “नयाँ ह्याचरी मेसिन आउदैँछ, मेसिन आएसँगै एकै पटक एक हजार ४० बच्चा उत्पादन हुन्छ ।”

घोराही उपमहानगरपालिका पशुसेवा कार्यालय प्रमुख जीवराज पौडेलले दाङमा पछिल्लो समयमा बट्टाइ पालन व्यवसायीको सङ्ख्या बढेको बताउनुभयो । धेरै स्याहार गर्नु नपर्ने र शान्त वातावरण, महिनाको २०–३० हजार कमाउन विदेश जानुभन्दा आफ्नै गाउँठाउँमा सानो भए पनि व्यवसाय गर्न र आवश्यक सरसल्लाहका लागि कार्यालयमा सम्पर्क गरेमा जुनसुकै बेला सेवा दिन आफू तयार रहेको प्रमुख पौडेलले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology