• Sunday 2nd of August 2026

भीरमाहुरीको महबाटै जीविकोपार्जन


  • गोकर्णेश्वर अनलाइन

सुनसरी झुम्काका नीरज रावत १० वर्षदेखि मह काढ्ने र बेच्ने काम गर्दै आउनुभएको छ । उहाँको छ जना परिवारको आम्दानी त्यही मह नै बनेको छ । उहाँ मह बेचेरै वार्षिक रु तीनदेखि चार लाखसम्मको आम्दानी गर्नुहुन्छ । “बुवाआमा अशक्त भइसकेका छन् । काम गर्ने अवस्थामा छैनन् । छोराछोरी विद्यालय जान्छन् । श्रीमतीलाई घरको काम ठिक्क हुन्छ”, उहाँले भन्नुभयो, “हामी बर्सेनि यसैगरी मह निकाल्ने र बिक्री गर्दै गाउँगाउँ पुग्ने गरेका छौँ । अरु आम्दानीको कुनै बाटो हामीसँग छैन ।”

कैलालीको जोशीपुर, लम्की, भजनी, बर्दियाको राजापुरलगायत क्षेत्रमा भिरमाहुरीको मह काढ्दै नीरज टीकापुर पुग्नुभएको छ । उहाँ मात्र नभइ उनको समूहमा १२ छन् । उहाँहरुले साँझ बिहान मह काढ्ने र दिउँसो त्यही मह बिक्रीका लागि गाउँगाउँ डुल्ने गरेका छन् । भिरमाहुरीले ठूला रुखमा, अग्लो र अप्ठ्यारो ठाउँमा घार बनाउने भएका कारण मह निकाल्न ज्यानको बाजी नै लगाउनुपर्ने रावतले बताउनुभयो । उहाँले कोरोना महामारीका कारण यस वर्ष विगतजस्तो मह निकाल्ने काम गर्न नसकेको बताउँदै मह निकाल्न ढिलो हुँदा सोचेजस्तो आम्दानी नभएको बताउनुभयो ।

“हाम्रो व्यवसाय नै यही मह काढ्ने हो । हामी असोजदेखि चैतसम्म मह काढ्दै, बेच्दै आएका छौँ”, उहाँले भन्नुभयो, “यहीबाट हामीले घर व्यवहार चलाएका छौँ । ज्यान जोखिममा राखेर मह काढ्ने गरेका छौँ ।” एउटा घारबाट दुईदेखि १० केजीसम्म मह उत्पादन हुने गरेको नीरज बताउनुहुन्छ । उहाँले सम्बन्धित क्षेत्रसँग समन्वय गरी अधियाँमा मह काढ्ने गरेको बताउँदै त्यसबाट राम्रो आम्दानी हुने गरेका बताउनुभयो । “हामी माहुरीको शुद्ध मह उत्पादन गरी गाउँगाउँमा गएर बिक्री गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “प्रतिकेजी रु ७०० देखि ९०० सम्ममा बिक्री गर्दै आएका छौँ ।”

यही पेशामा रहेका जगदीश जयसवालको परिवारमा १० सदस्य छन् । उहाँको आम्दानीको स्रोत त्यही मह नै हो । वर्षको करिब छ महिना मह निकाल्न दौडहामा निस्कने उहाँ यही मह बिक्री गरेर कमाएको पैसाले छोराछोरीको पढाइलेखाइसँगै घर खर्च पनि चलेको बताउनुहुन्छ । “कामका लागि जति दौडधुप गरे पनि काम पाइँदैन र आफूसँग अरु सीप पनि छैन”, उहाँले भन्नुभयो, “जेजति सिकियो, भिर, रुख तथा अन्य कठिन ठाउँमा गएर मह निकाल्न सिकियो । त्यही सीप लिएर देश दौडहामा निस्कने गरेका छौँ ।”

दुईदेखि तीन हजारभन्दा बढी घार मह निकाल्ने तयारी रहेको उहाँले बताउनुभयो । “मह निकाल्न अझै धेरै बाँकी छ । तर चिसो बढेका कारण माहुरीले घर छाड्दै जाँदा उत्पादनमा कमी देखिएको छ ।” उहाँले भन्नुभयो, “अब हामी यो क्षेत्र छाडेर भित्री मधेशतिर जान्छौँ । पुनः माघको अन्तिमसम्म मह निकाल्न फेरि आउँछौँ ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology