• Sunday 2nd of August 2026

सिरहामा फुसको छानो विस्थापन अभियान शुरु


  • गोकर्णेश्वर अनलाइन

सिरहामा फुसको छानामुक्त बनाउने अभियान शुरु गरिएको छ ।

फुसको छानोका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र वर्षेनी परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले फुसको छानो विस्थापित गर्न अभियान शुरु गरेको हो ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत सिरहाको सबै स्थानीय तहमा फुसको छानो विस्थापित गर्ने अभियान शुरु गरिएको बताइएको छ । अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सिरहाका विभिन्न स्थानमा चार हजार जस्तापातासहितको सुरक्षित घर बनाउन लागिएको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले जनाएको छ ।

सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले वर्षेनी हुने आगलागी र छानो चुहिने समस्याको दिगो समाधानका लागि सिरहाको चार वटै निर्वाचन क्षेत्रका स्थानीय तहमा जस्तापातासहितको सुरक्षित घर बनाउने निर्णय गरेको छ ।

सिरहा नगरपालिकामा ४०१, गोलबजार नगरपालिकामा २२८, नरहा गाउँपालिकामा १७८, विष्णुपुर गाउँपालिकामा १२३ र अर्नमा गाउँपालिकामा २६७ वटा जस्तापाताका सुरक्षित आवास भवन निर्माण गर्ने निर्णय भएको सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी राजविराजका इन्जिनीयर ब्रह्मदेव चौधरीले जानकारी दिनुभयो ।

सरकारले फुसको छानो विस्थापित गर्ने लक्ष्यका साथ शुरु गरेको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत फुस छानो हटाएर जस्तापाता हालेर सुरक्षित घर बनाउन लागिएको इन्जिनीयर चौधरीले बताउनुभयो । ‘‘प्रत्येक घरका लागि रु ५० हजार रकम छुट्ट्याइएको छ”, उहाँले भन्नुभयो, ‘‘लक्षित परिवारलाई घरमा जस्तापाता हाल्न पहिलो किस्तामा रु ३० हजार दिने र तोकिएको मापदण्डअनुसार जस्तापाता हालेर भवन बनाउनेलाई थप रु २० हजार उपलब्ध गराइने छ ।” यसमा कुनै लक्षित वर्ग वा जातलाई नभइ फुसको छानो भएका सबै घरपरिवारलाई समेटिएको उहाँको भनाइ छ ।

‘‘तराई–मधेशका जिल्लामा अझै फुसको छानो लगाउने गरिएको छ”, सिरहा नगरपालिकाका नगरप्रमुख अशेश्वर यादवले भन्नुभयो, ‘‘ जसकारण वर्षेनी आगलागीको घटना हुने गरेका छन्, त्यसैले सरकारले फुसको छानो विस्थापित गर्न यस्तो कार्यक्रम ल्याएको हो ।” यो कार्यक्रमबाट आगलागी हुने घटनामा कमी आउने उहाँको विश्वास छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology