• Sunday 26th of July 2026

सीमा नाका बन्दको असर राजश्वमा


  • गोकर्णेश्वर अनलाइन

कोरोनाको प्रभाव तथा विगत लामो समयदेखि नेपाल–भारत सीमा नाका बन्द रहेका कारण एकीकृत भन्सार जाँच चौकी (आइसिपी) ले चालू आर्थिक वर्षको मङ्सिर महिनासम्म लक्ष्यभन्दा ११ प्रतिशतले कम राजश्व उठाएको छ । सङ्घीय सरकारले भन्सार कार्यालयलाई चालू आवको साउनदेखि मङ्सिरसम्म पाँच महिनाभित्र रु ६५ अर्ब २५ करोड ५५ लाख राजश्व उठाउने लक्ष्य दिएकामा सो कार्यालयले सो अवधिमा रु ५८ अर्ब १५ करोड ८९ लाख मात्र राजश्व उठाउन सकेको छ । सो रकम लक्ष्यको तुलनामा ११ प्रतिशतले कम देखिएको छ ।

देशमा कोरोना सङ्क्रमणका कारण अर्थतन्त्रमा परेको प्रभाव तथा नेपाल–भारतबीच रहेको सीमा नाका लामो समयदेखि बन्द रहेकाले सो अवधिमा घट्दो आयातका कारण तोकिएको लक्ष्य प्राप्त गर्न नसकिएको हो । भन्सार अधिकृत शैलेन्द्र अधिकारीले राससलाई भन्नुभयो, “भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधनलगायत अन्य सामान सोचे जस्तो आउन नसकेकाले सो अवधिमा लक्ष्य भेट्टाउन नसकिएको हो ।’’

सङ्घीय सरकारले सो भन्सार कार्यालयलाई आव २०७७÷७८ का लागि रु एक खर्ब ७१ अर्ब राजश्व उठाउन लक्ष्य दिएको छ । सो अवधिमा नेपालबाट सनफ्लावर तेल, डाबरका उत्पादन, खाने तेललगायतका रु १५ अर्ब ५८ करोडको सामान भारततर्फ निकासी भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको पाँच महिनामा रु ७६ अर्ब ३३ करोड मूल्य बराबरको विभिन्न सामान भारततर्फ निर्यात भएको छ । सो अवधिमा वीरगञ्ज नाकाबाट सबैभन्दा बढी भटमासको तेल भारततर्फ निर्यात भएको बताइएको छ ।

कोरोना महामारी तथा सीमा नाका बन्द हुँदा भारततर्फ निकासी हुने सामानमा समेत प्रभाव पर्न गएको हो । सो अवधिमा वीरगञ्ज नाकाबाट रु नौ अर्ब १० करोड मूल्य बराबरको छ करोड ३१ लाख किलो भटमासको तेल भारततर्फ निकासी भएको भन्सार अधिकृत रमेश सुकमनीले बताउनुभयो ।

तेस्रो मुलुक अर्जेन्टिना, ब्राजिल, युक्रेन, इण्डोनेशियालगायतका देशबाट व्यापारीले भटमासको अर्धप्रशोधित तेल आयात गर्ने गरेको छ । नेपालबाट भारत निकासी हुने मुख्य वस्तुको शीर्ष स्थानमा भटमासको प्रशोधित तेल रहेको छ । अघिल्लो वर्षसम्म पाम आयलको भारत निकासी उच्च रहे पनि भारत सरकारले सो तेलको आयातमा प्रतिबन्ध लगाएपछि उद्योगी व्यवसायीले भटमासको तेलको निकासी बढाएको छ ।

वीरगञ्ज भन्सार नाका भटमासको तेल निकासी हुने मुख्य नाका मानिएको छ । बारा, पर्सामा रहेका १४ वटा उद्योगले यस्ता तेल निकासी गर्दै आएका छन । भारतले पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि स्वदेशी उद्योगले भटमासको कच्चा तेल ल्याएर प्रशोधन गरी भारत निकासी गर्दै आएको छ । यस वर्ष लामो समयसम्म रहेका लकडाउनका कारण उत्पादन गरिएको वस्तु निर्यात हुन नसकेपछि भन्सार राजश्वमा गिरावट आएको सम्बन्धित कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology