• Saturday 1st of August 2026

वन फँडानीविरुद्ध कारवाही शुरु


  • गोकर्णेश्वर अनलाइन

बर्दिबास नगरपालिका–१ को रम्तेलडाँडा सामुदायिक वनक्षेत्र फँडानीविरुद्ध कारवाही प्रक्रिया थालिएको छ । वनक्षेत्रलाई निजी नम्बरी जग्गा देखाएर फँडानी गर्नेविरुद्ध सम्वद्ध निकायले कारवाही थालेका हुन् ।

आफ्नो नम्बरी दर्ता रहेको जग्गामा हुर्काइएका रुख कटानका लागि आवश्यक कागजात जुटाएर डिभिजन वन कार्यालयको कटान आदेशले सयौं रुख फँडानी गरेका बर्दिबास–१ का लीलामणि आचार्य र कृष्णप्रसाद गौतमविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । दुवैजनाविरुद्ध वन फँडानी अभियोगमा कारवाही बढाउन डिभिजन वन कार्यालयले पक्राउ पूर्जी जारी गरेको हो ।

वनक्षेत्रलाई निजी जग्गा देखाउन कागजात तयार गर्ने आफ्नै कार्यालय मातहतका सात कर्मचारीलाई पहिलोचरणमा स्पष्टिकरण सोधिएको र त्यसअनुसार आउने जवाफबाट आजदेखि थप कारर्वाही थालिने डिभिजन वन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो ।

आचार्य र गौतमले आफ्नो नाउँमा दर्ता रहेको साविक २५ नम्बर बहादुरगञ्ज–३ ‘क’ को कित्ता नम्बर–२ को जग्गा (हाल, बर्दिबास नगरपालिका–१) मा आफैंले रोपी हुर्काएका रुख कटानका लागि स्वीकृति माग्दै डिभिजन वन कार्यालयमा निवेदन दिएका थिए । गत असोजमा प्राप्त सो निवेदनबारे आवश्यक प्रक्रिया बढाउँदै जाँदा प्राप्त कागजातका आधारमा निजी जग्गाकै वन हो भन्ने ठहर गरेर कार्यालयले कटान आदेश दिएको थियो ।

कटानपछि स्थानीयवासीले वनक्षेत्रको रुख फँडानी गरेको भन्दै विरोध जनाएपछि सो रुख कटान गरिएको क्षेत्र निजी नम्बरी दर्ता हो होइन दोहो¥याएर नापजाँच गर्ने, यसअघि प्राप्त कागजातको अनुसन्धान गर्ने र कटान गरिएका रुखको जिपिएस प्रणालीबाट लगत तयार गर्ने काम शुक्रबार नै थालिएको छ । वन फँडानी गरिएको क्षेत्रको प्रदेश नं २ को वन निर्देशनालयका प्रमुख जगन्नाथ जयसवालसहितका अधिकारीले अवलोकन गरेर सत्यतथ्य अनुसन्धान गरिने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology