• Saturday 1st of August 2026

गोरखाले पृथ्वीजयन्ती तीन दिन मनाउने, पुस २७ मा बिदा


  • गोकर्णेश्वर अनलाइन

गोरखा नगरपालिकाले २९९औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो ।

नेपाल एकीकरणका अभियानकर्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो गोरखामा उहाँको सम्मान र सम्झनामा नगरपालिकाको अगुवाइमा सरसफाइ, खेलकूद, दीप प्रज्वलनलगायत कार्यक्रम गर्न लागिएको उहाँको भनाइ छ । कार्यक्रमअन्तर्गत पुस २६ गते नगरपालिकाभित्रका सबै वडामा सरसफाइ कार्यक्रम हुने प्रमुख प्रशासकीय अधिकृत पन्तले बताउनुभयो ।

“नेपाल चेम्बर अफ कर्मससँगको सहकार्यमा सोही दिन गोरखा बजार क्षेत्रमा सरसफाइ कार्यक्रम पनि गरिनेछ”, उहाँले भन्नुभयो, “पुस २७ गते गोरखा युथ क्लबको संयोजनमा द्रव्य शाह चौतारा हुँदै ठूलो आँगन, अस्पताल चोक, हरमटारी, पुरानो बसपार्क हुँदै गोरखा दरबारसम्म खुला दौड प्रतियोगिताको आयोजना गर्ने तय भएको छ ।”

त्यस्तै पुस २७ गते सदरमुकामको खेलकूद मैदानदेखि हरमटारी हुँदै गोरखा सङ्ग्रहालयसम्म विभिन्न जातजातिको झाँकी प्रस्तुत प्रदर्शन गरिने प्रमुख प्रशासकीय अधिकृत पन्तले बताउनुभयो । दिवसका अवसरमा पुस २८ गते गोरखा जेसिसको अगुवाइमा वक्तृत्वकला प्रतियोगितासहित खेलाडी सम्मान र पुरस्कार वितरण कार्यक्रम गरिने उहाँको भनाइ छ । नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा पुस २७ गते एक दिन नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology