• Saturday 1st of August 2026

रिच स्टेकर मेसिन अभावमा कन्टेनर बन्दरगाहमै थन्किए


  • गोकर्णेश्वर अनलाइन

मुलुककै पहिलो सिर्सिया सुक्खा बन्दरगाहमा कन्टेनर लोड अनलोड गर्ने रिच स्टेकर मेसिनको अभावमा पछिल्लो समयमा तीन हजार कन्टेनर थन्किएर बाहिर जान सकेका छैनन् ।

वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित भारतसँग रेल्वे सञ्जालमा जोडिएको सुक्खा बन्दरगाहमा छ लेनको रेल्वे लाइन भए पनि तीन रेल्वे लाइन मर्मत तथा व्यवस्थित हुन नसक्दा तेस्रो मुलुकबाट आउने कन्टेनर राख्ने ठाउँको अभाव भएको छ ।

करीब एक हजार ५३० कन्टेनर राख्ने क्षमता भएको सो बन्दरगाहमा पछिल्ला दिनमा कार्गो सामान बाहिर जान नसक्दा करीब दोब्बर कन्टेनर थन्किएको अवस्थामा रहेको बन्दरगाहका ठेकेदार कम्पनी प्रिस्टिन भ्याली ड्राईपोर्ट प्रालिले जनाएको छ ।

दिन प्रतिदिन रेलमार्गमार्फत उक्त बन्दरगाहमा आउने कार्गोको सङ्ख्या बढदै गइरहेको अवस्थामा पर्याप्त रिच स्टेकर मेसिनको अभावमा कन्टेनर समयमा उठन नसकेपछि यस्तो अवस्था आएको ड्राईपोर्ट प्रालिका प्रबन्धक विकास शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “रिच स्टेकर मेसिनको अभावमा अहिले बन्दरगाह हाताभित्र एक हजार २०० माल सामानले भरिएका कन्टेनर बाहिर जान नसकेर थन्किएका छन् ।”

पर्याप्त मात्रामा बन्दरगाहभित्र रिच स्टेकर मेसिन नहँुदा समयमा आयातकर्ताले आफनो सामान उठाउन नसक्दा ठेकेदार कम्पनीले ब्यापारीसँग १० प्रतिशत अविलम्ब शुल्क लिने गरेकाले आयातकर्ता थप आर्थिक मारमा परेको गुनासो उनीहरुको छ ।

यसअघि आयात तथा निर्यातकर्ताले सबै कार्गो छ दिनका लागि निःशुल्क सामान राख्न पाउने गरेकामा भारतीय ठेकेदार कम्पनी सो प्रालिले बन्दरगाहको ठेक्का लिएपछि यो समय तीन दिन मात्र दिएकाले व्यवसायी आर्थिक मारमा पर्दै गएका छन् ।

नेपाल इन्टरमोडल विकास समितिले दुई रिच स्टेकर मेसिन दिने भने पनि हालसम्म नदिएका कारण कन्टेनर ओसार्न समस्या देखिएको प्रिस्टिन भ्यालीका प्रबन्धक शर्माको भनाइ छ ।

बन्दरगाहमा हाल प्रिस्टाइन भ्यालीसँग भारतीय नम्बर प्लेटका तीन तथा नेपाली नम्बर प्लेटको एक गरी चार मेशिनले काम गरिरहेको नेपाल इन्टरमोडेल यातायात विकास समितिका अधिकृत तर्कराज जोशीले बताउनुभयो । बिग्रेर रहेका पहिलेका चार रिच स्टेकर मेसिन मर्मतका क्रममा रहेकाले अहिले कन्टेनर ओसारपसारमा समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।

बन्दरगाहका तत्कालीन ठेकेदार कम्पनी हिमालय टर्मिनले बिग्रेका मेसिन तीन महिनाभित्र प्रिस्टाइन कम्पनीलाई दिने भनेर सम्झौता गरे पनि हालसम्म सो सम्झौता पुरा गर्न नसक्दा यस्तो अवस्था आएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology