• Sunday 26th of July 2026

स्रोत नखुलेको रु ४९ लाखसहित भारतीय पक्राउ


  • गोकर्णेश्वर अनलाइन

बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई नगदसहित पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

बिआर ०५थ ६४१७ नम्बरमा सवार भारत विहार जिल्ला मोतिहारी थाना हंशपुर ग्राम पञ्चायात वडा नं १० घोडासहान बस्ने २६ वर्षीय अरबिन्द महतो र १४ वर्षीय नाम परिवर्तित खम्बालाई पक्राउ गरेको प्रवक्ता मिश्रले भन्नुभयो । कपडाको झोलामा लुकाइछिपाइ एक हजारको एक हजार ९२३ थान, ५०० को पाँच हजार ७०४ थान, १०० को एक हजार २०० थान र रु ५० को १०० थान रुपैयाँसहित नेपाल आइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र यस कारोवारमा नेपालीको पनि सहभागिता रहेको हुनसक्ने हुँदा चाँडै नै तिनीहरुलाई कानूनी दायरामा ल्याउने उपरीक्षक शाहीले बताउनुभयो । पक्राउ परेका दुबै जनालाई सम्पत्ति शुद्धीकरण विभाग काठमाडौँमा पठाउने उहाँले भन्नुभयो । पक्राउ परेका हकमा बिगोको दोब्बर र दुई वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुने व्यवस्था रहेको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology