• Friday 31st of July 2026

चिउरी कटानले मह उत्पादनमा कमी


  • गोकर्णेश्वर अनलाइन

वर्षेनी वनजङ्गल फँडानी गरी ऐलानी जग्गा कमाउने र सामुदायिक वनको मनोमानीले मह उत्पादनमा समस्या भएको छ । मह उत्पादनको मुख्य स्रोत रहेको चिउरीको फूल चिउरी कटानसँगै मासिने क्रम बढेपछि मह उत्पादनमा कमी आएको हो ।

जिल्लाको नलगाड नगरपालिका, भेरी नगरपालिकामा चिउरीको जङ्गल मासिने क्रम बढेको छ । पशु चौपायालाई घाँस खुवाउनसमेत चिउरीकै प्रयोग गर्दा फूल उत्पादनमा कमी आएको हो । घर निर्माण गर्दा काठका रुपमा समेत जथाभावी सामुदायिक वन समूहबाट चिउरी कटान गरेपछि समस्या थपिएको छ ।

चिउरी संरक्षण गर्नुपर्ने ठाउँमा जथाभावी कटान गरेपछि निकै समस्या आएको प्रधानमन्त्री कृषि आधुनिक परियोजना जाजरकोटका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो । अघिल्लो वर्षभन्दा यो आर्थिक वर्षमा मह उत्पादनमा ५० प्रतिशत गिरावट आएको प्रमुख बस्नेतको भनाइ छ ।

त्यस्तै भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले पर्या–प्रणालीमा सबै एक अर्कासँग सम्बन्ध राख्ने भएकाले वनजङ्गल संरक्षण गर्नु नै पहिलो दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब चिउरी संरक्षणमा जोड दिनका लागि सचेतनामूलक कार्यक्रम गरी सबैलाई बुझाउनु पर्ने आवश्यकता महसुस भएको छ । मह उत्पादन भेरी नगरपालिका–१ मा बढी हुने भएकाले त्यसमा हामी विशेष जोड दिन्छौँ ।”

जाजरकोटको ब्राण्डका रुपमा स्थापित भएको सेरेना मौरीको मह वर्षेनी उत्पादनका गिरावट आउँदा सरोकारवाला निकाय चिन्तित भएको मौरी जोनले बताएको छ । बहुउपयोगी चिउरीका अनेक गुण रहेका छन् । पानीको मुख्य स्रोतदेखि यसको फलबाट उत्पादन हुने विभिन्न वस्तुबाट समेत राम्रो आम्दानी गर्न सकिन्छ ।

समुद्र सतहबाट २०० देखि एक ५०० मिटरसम्मका भिरपाखा, नदी किनार तथा खोचमा हुर्कने चिउरीको रुख १५ देखि २० मिटरसम्म अग्लो हुन्छ । घमाइलो पाखाको ओसिलो माटोमा सिमल, मालु लहरा, धाइरो, सल्लो, टुनी भएका ठाउँमा राम्ररी हुर्कन्छ । चिउरीको एउटा बोटबाट ५० देखि १५० किलोग्रामसम्म बिजुला निस्कन्छ । धेरै उपयोगी हुनाले यसलाई कल्पवृक्षका रुपमा लिइन्छ ।

हल्का पहेलो रंगको फूल हुने चिउरी असोज कात्तिकदेखि माघसम्म फुल्छ । अनि फागुनदेखि असारसम्म फल लाग्छ । फल काँचोमा हरियो र पाकेपछि पहेंलो हुन्छ । फलभित्र एकदेखि तीन वटासम्म बिजुला हुन्छन् ।

चिउरीको पात गाईबस्तुलाई खुवाउन र टपरी गाँस्न प्रयोग गरिन्छ । यसको घिउ खान ९तरकारी पकाउन र सेल रोटी पकाउन० र औषधिका रुपमा ९खुट्टा फुटेकामा, घुँडा दुखेकामा, अनुहारमा आएको दाग हटाउन० प्रयोगमा आउँछ ।

चिउरीको घिउ साबुन र मैनबत्ती बनाउन उपयोगी हुन्छ । पेलेर बाँकी रहेको पिनाबाट जैविक मल र किटनाशक औषधि बनाउन सकिन्छ । चिउरीको काठबाट विभिन्न सामान बनाउन सकिन्छ । यसको फल सिधै खाए पनि हुन्छ र यसबाट जुस, जाम बनाउन र रक्सी बनाउन सकिन्छ । चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ ।

चिउरीको बिउबाट बिरुवा उमारेर रोप्नु राम्रो हुने डिभिजन वन कार्यालयका प्रमुख वसन्तबाबु श्रेष्ठले जानकारी दिनुभयो । असार–साउनमा पाकेर पहेंलो भएको फलबाट बीउ निकाल्नु पर्छ । बीउलाई धोएर छायाँमा सुकाइने गरिन्छ । फलबाट निकालेको सात दिनभित्र रोपेको बीउ राम्ररी उम्रन्छ ।

पात कुहेर बनेको जङ्गलको मलिलो माटो एक भाग, बालुवा एक भाग र राम्ररी पाकेको गाईबस्तुको मल एक भाग मिलाएको माटोमा १२ घण्टा अगाडिदेखि भिजाएको बीउ चार अंगुल जति गाडेर रोप्नुपर्छ । असार, साउन र भदौसम्म नै बीउ रोप्न सकिन्छ । चिउरी रोपेको १२ वर्षदेखि ७० वर्षसम्म राम्रो फल्ने विज्ञको भनाइ छ । फल सङ्कलन गर्ने चिउरीको बोट राष्ट्रिय वनमा भए इजाजत लिनुपर्छ र बिक्री गर्नुअघि एक किलोग्रामको तीन रुपैयाँ राजस्व तिर्नुपर्छ । जाजरकोटका वन जङ्गलमा जथाभावी सङ्कलन कार्य हुँदै आएको छ ।

सामुदायिक वन भएकाले यहाँ कुनै खास नियम निर्माण नगरी जथाभावी सङ्कलन गरिँदै आएको छ । जाजरकोटमा कति प्रतिशत चिउरी छ भन्ने यकिन तथ्याङ्क भने सङ्कलन भएको छैन । जिल्ला समुद्र सतहबाट ६१० देखि पाँच हजार ४३५ मिटर उचाइसम्म फैलिएको छ । जिल्लामा कूल वनजङ्गलले ढाकेको क्षेत्रफल एक लाख २४ हजार ५९८ हेक्टर छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology