• Friday 31st of July 2026

चिडियाखानाका वन्यजन्तुको ‘अविभावकत्व ग्रहण’ गर्ने बढ्दै


  • गोकर्णेश्वर अनलाइन

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि शुरु गरेको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन् । चिडियाखानाले कोभिड–१९ को प्रभावका कारण वन्यजन्तुको आहारा, स्याहार र स्वास्थ्योपचारमा आवश्यक पर्ने खर्च एवं आम्दानीबीच असन्तुलन भएपछि खर्च जुटाउन सो कार्यक्रम शुरु गरेको छ ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि चिडियाखानामा अवलोकनकर्ताको आवतजावत नौ महिना (मार्चदेखि डिसेम्बर) सम्म पूर्ण रुपमा बन्द गरिएको थियो । हालसम्म पनि पहिलेको तुलनामा अवलोकनकर्ताको सङ्ख्या न्यून रहेको चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले जानकारी दिनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सवका अवसरमा यही फागुन १९ गतेदेखि सो कार्यक्रम शुरु गरेको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हाल चिडियाखानामा रहेका तीनमध्ये एक गैँडाको एक महिनासम्म आफ्नो निजी तर्फबाट र एक वर्षको नेपाल सरकारका तर्फबाट आहारा, स्याहार र औषधोपचार खर्चको जिम्मेवारीसमेत लिनुभएको थियो । यसैगरी वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले चिडियाखानामा रहेको एक मात्र हात्तीको आहारा, स्याहार र स्वास्थ्योपचारमा लाग्ने वार्षिक खर्चको जिम्मेवारी लिनु भएको छ ।

कार्यक्रमअन्तर्गत चिडियाखानाले शुरुआती चरणमा तत्काल हात्ती, बाघ, गैँडा, भालु, घडियाल गोही, चिम्पाञ्जी, हिप्पोपोटामस, रेडपाण्डालगायत एक दर्जन वन्यजन्तुको वर्ष दिनको आहारा, स्याहार र स्वास्थ्यउपचारमा लाग्ने खर्चको विवरणसमेत सार्वजनिक गरिएको थियो । सो विवरणअनुसार बाघ, हात्ती र गैंँडाको वार्षिक खर्च जनही रु १५ लाख, हिप्पोपोटामसको वार्षिक खर्च रु १२ लाख, चिम्पाञ्जीको रु १० लाख, भालुको रु पाँच लाख, घडियाल गोहीको रु तीन लाख ५० हजार, रेड पाण्डाको रु दुई लाख ५० हजार, डाँफेको रु ७५ हजार, सारसको रु ७५ हजार वार्षिक खर्च रहेको छ ।

यसैगरी नरङ्स हस्पिटालिटी प्रालिले सारसको, कन्टिनेन्टल ट्रेडिङका अदिती घिमिरेले रेड पाण्डाको, काष्टमण्डप इभेन्टस्ले सारसको, लक्ष्मी बैंकले लाटोकोसेरोको, मेघा बैंकले डाँफेको अविभावकत्व ग्रहण गरेका छन् । अन्य विभिन्न सङ्घसंस्था र व्यक्तिले चिडियाखानाका जीवजन्तुको अविभावकत्व ग्रहण गर्ने प्रक्रियामा रहेको सूचना अधिकारी चालिसे बताउनुभयो ।

चालू आर्थिक वर्षमा गत डिसेम्बर १० देखि मात्र चिडियाखाना अवलोकर्ताका लागि खुला गरिएको र फेब्रअरीसम्ममा रु करोड आम्दानी भएको चिडियाखानाको तथ्याङ्क छ । कोभिड–१९ अघिको समयमा अवलोकनबाटै वार्षिक झण्डै रु १४ करोड आम्दानी गर्ने चिडियाखानाको वार्षिक खर्च करीब रु ११ करोड रहेको छ ।

कोभिड–१९ अघि चिडियाखानामा बिदाको दिन दैनिक १० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने गरेकामा हाल बिदाको दिन दैनिक पाँच हजारको हाराहारीमा अवलोकनकर्ता आउने गरेको उहाँले बताउनुभयो । चिडियाखाना प्रवेश गर्न सर्वसाधारणका लागि रु १५०, बालबालिका र ज्येष्ठ नागरिकका लागि रु ९० र दक्षिण एशियाली मुलुकका नागरिकका लागि रु ३५० शुल्क तोकिएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो भने चिडियाखाना २०५२ सालदेखि कोषले व्यवस्थापन गर्दै आएको छ । करीब छ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल विभिन्न ११० प्रजातिका एक हजार १६० वन्यजन्तु रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology