• Friday 31st of July 2026

रातो हाब्रेको छालासहित तीन पक्राउ


  • गोकर्णेश्वर अनलाइन

रातो हाब्रेको छालासहित महाकुलुङ गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन् । सात रातो हाब्रेका छाला र पाँच पासोसहित उनीहरुलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले घरैबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महाकुलुङ–२ का ७६ वर्र्षीय जगत्बहादुर राई, ३ का ५६ वर्षीय कवीर शङ्कर राई र ५७ वर्षीय मितुरधन राई रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ । उनीहरुलाई आज आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रभित्र गैरकानूनी रुपमा वन्यजन्तुको चोरी शिकार गरी मार्ने, आखेटोपहार लुकाइछिपाई राखी खरीदबिक्री गर्ने तथा ओसारपसार गर्ने गरेको भन्ने सूचनाका आधारमा तिनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कवित कटुवालले जानकारी दिनुभयो ।

अनुसन्धानका लागि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएका तीनै जनालाई कानूनी कारवाहीका निम्ति राष्ट्रिय निकुञ्ज पठाइने बताइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा (२६) को १ अनुसार निजहरुलाई रु पाँच लाखदेखि रु १० लाखसम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म कैद सजाय या दुवै हुन सक्ने कानूनी प्रावधान छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology