• Sunday 26th of July 2026

हनुमन्ते करिडोर निर्माण रोकिए रु दुई अर्ब फिर्ता, जनता भन्छन् : छिटो सक्नुस्


  • गोकर्णेश्वर अनलाइन

–रमेश गिरी

हनुमन्ते करिडोरको निर्माण पुनः सुचारु भएको छ । हनुमन्ते खोला आसपासका बस्तीमा हुने डुबान रोक्ने, लोकन्थली–कोटेश्वरमा सडकमा दैनिक हुने जाम हटाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुरमा सञ्चालित हनुमन्ते करिडोर निर्माण पुनः सुचारु भएको हो ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिले शुरु गरेको हनुमन्ते करिडोर निर्माणको क्रममा मापदण्डभित्र रहेका संरचना हटाउन अटेर गर्ने र जग्गा विवादका कारण बेलाबेलामा रोकिँदै आएको करिडोर निर्माण सम्बन्धी विवाद सुल्झाउँदै पुनः शुरु भएको छ । समितिले भक्तपुरको सल्लाघारी पुलदेखि मनोहरा नदी दोभानसम्मको करिब ११ किमीमा करिडोर निर्माण गर्न शुरु गरेपछि राधेराधे पुलदेखि नयाँ थिमि बालकोट पुलसम्म २.८ किमि करिडोर निर्माणमा आएका विभिन्न विवादलाई सुल्झाउँदै बालकोटसम्मको निर्माण पूरा गरेको छ ।

योबीचमा केही भागमा स्थायी र अस्थायी संरचना बनाएर हनुमन्ते करिडोर निर्माणमा बाधा पुगेका र मापदण्डभित्र परेका संरचना भने धमाधम भत्काएर करिडोर निर्माण अगाडि बढाएको हो । समितिले करिब रु दुई अर्ब बजेट विनियोजन गरी करिडोर निर्माणलाई तीन खण्डमा विभाजन गरेर काम अगाडि बढाएकोमा आगामी जेठ मसान्तभित्र काम सम्पन्न नगरे बजेट फिर्ता जाने र करिडोर निर्माण अलपत्र पर्ने भएपछि अवरोध हटाउँदै करिडोर निर्माण प्रक्रिया अगाडि बढाएको समितिका अध्यक्ष उद्धव तिमल्सिनाले जानकारी दिनुभयो ।

हनुमन्ते नदीको बहाव २० मिटर तथा नदीको दायाँबायाँ २०–२० मिटरको मापदण्डभित्र रहेर निर्माण शुरु भएको हनुमन्ते करिडोरको मापदण्डभित्र रहेका भौतिक संरचना हटाउन विगत दुई वर्षदेखि पटकपटक समिति र सूर्यविनायक नगरपालिकाले जारी गरेको सूचनाको अटेर गर्नेको त्यस्तो संरचना डोजर लगाएर भत्काउँदै काम अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

आयोजना सम्पन्न गर्न नसके यति ठूलो रकमको बजेट फिर्ता जाने भएपछि हनुमन्ते नदी आसपासका जग्गाधनी र यहाँका बासिन्दाले छिटो करिडोर निर्माण सम्पन्न गर्न माग गरे पछि समितिले पुनः काम अगाडि बढाएको उहाँको भनाइ छ । केही दिन अगाडि मात्रै सूर्यविनायक–५ मा रहेका साखः इन्ड्रस्टिजका सञ्चालक किरण साखलाई दुई वर्षदेखि पर्खाल भत्काउन पटकपटक सूचना पठाउँदा पनि नमानेको र उल्टै पाटन उच्च अदालतमा करिडोरविरुद्ध रिट जाहेर गरेको थियो । अदालतले करिडोर निर्माणको पक्षमा फैसला गर्दै मुद्दा खारेज गरेपछि आयोजनाले डोजर लगाएर भत्काएको समितिको भनाइ छ ।

खोलाले बेला बेलामा धार परिवर्तन गर्दा कतिपयको जग्गा खोलामा र खोला व्यक्तिको जग्गामा बगेकाले सबैलाई उचित क्षतिपूर्ति मिल्ने गरी जग्गा वितरण गर्ने उद्देश्यका साथ सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाले हनुमन्ते जग्गा एकीकरण आयोजना सञ्चालन गरी जग्गा वितरण गर्ने निर्णय गरेपछि सबै विवादको अन्त्य भई करिडोर निर्माण शुरु भएको थियो ।

करिब पाँच हजार ४०० रोपनी जग्गामा एकीकरण आयोजना सञ्चालन गरी लालपूर्जाको आधारमा नियमानुसार जग्गा कट्टा गरी वितरण गर्ने गरी डिपिआर बनाउने र पाँच वटा उपभोक्ता समिति गठन गरी एकीकरण आयोजना अगाडि बढाउने निर्णय भए पनि कोरोना भाइरस सङ्क्रमण बढेसँगै एकीकरण आयोजना सञ्चालनमा ढिलाइ भएको आयोजना व्यवस्थापन समितिका अध्यक्ष तथा सूर्यविनायकका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

हनुमन्ते जग्गा एकीकरण आयोजना सञ्चालनमा नगरपालिकाले ढिलाइ गरेपछि काठमाडौँ उपत्यका विकास प्राधिकरणले आयोजना सञ्चालन गर्ने तयारी गरेको छ । हनुमन्ते करिडोरका निर्माणको आयोजना एवं बजेट व्यवस्थापनमा लाग्दै आउनु भएका प्रतिनिधिसभा सदस्य महेश बस्नेतले कोरिडर बनिरहँदा जग्गा एकीकरण आयोजनामार्फत सबैलाई उचित क्षतिपूर्ति दिइने बताउँदै करिडोरको विषयमा फैलाएको भ्रममा नपरी करिडोर निर्माणमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

सांसद बस्नेतले भन्नुभयो, “हनुमन्ते करिडोर सङ्घीय सरकारको ऐतिहासिक आयोजना हो, यो भक्तपुर विकासको लाइफ लाइन हो, त्यसैले अब हनुमन्ते करिडोर बन्न नदिने गिरोहले जति नै प्रयास गरे पनि कुनै हालतमा करिडोरको निर्माण रोकिन्न, दुई अर्ब रकम फिर्ता जान दिँदैनाँै ।” कौशलटारको सागवारीमा जगन्नाथ आचार्यले आफू भूमि सुधारमन्त्री भएको समयमा आफ्नो कान्छी श्रीमती विमली उपाध्यायको नाममा हनुमन्ते नदीले बहाव फेरेर बगेको जमिनमा नदी उकासको ५४ रोपनी जग्गा दर्ता गरेर बिक्री गरेको पाइएको उहाँले बताउनुभयो ।

सूर्यविनायक–२ बालकोटकी स्थानीय सुनिता सिलवालले सागबारी क्षेत्रमा अवैधरुपमा सार्वजनिक जग्गा दर्ता गरेको ५४ रोपनी जग्गा सरकारीकरण गरेर २०२१ सालको नापी अनुसार कोरिडर बनाउनपर्छ भन्न नसक्ने अनि जनतालाई झुक्काएर राजनीतिकरण गर्न खोज्ने थिमिका सम्बन्धित वडाध्यक्षहरु र करिडोर निर्माणका जिम्मेवारी पाएका नगरपालिकाले काम नगर्दा जग्गा धनी पीडित भएको बताउनुभयो । उहाँले सहमति नबनी बल प्रयोग गरेर काम अगाडि बढाउनुभन्दा पीडित जग्गाधनीलाई क्षतिपूर्ति दिने गरी समयमै करिडोर निर्माण सम्पन्न गर्न माग गर्नुभयो ।

नेपाली कांग्रेसका पूर्ववडाध्यक्ष ओम श्रेष्ठको नेतृत्वमा एक पक्षले करिडोर निर्माण गर्ने पक्षलाई भूमाफियाको संज्ञा दिने, व्यक्तिविरुद्ध मुद्दा हाल्नेजस्ता कार्य गर्दै आएको छ । उनीहरुले जग्गा एकीकरण आयोजना सञ्चालन गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राख्दै करिडोर निर्माणको विरोध गर्दै आएका छन् । हनुमन्ते करिडोर निर्माणमा अब अवरोध पु¥याउन आएमा स्थानीय तहले कारवाही अगाडि बढाउने सूर्यविनायक नपा–४ का अध्यक्ष उत्तम थापा र ५ का वडाध्यक्ष राजकुमार जोशीले बताउनुभयो । हनुमन्ते नदीको ५४ रोपनी र मनोहरा नदीको ४४ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरी कब्जा गर्ने माफियाको पक्षमा लागेर करिडोरको विरोध गर्न आए हातमा लाठी लिएर जनता प्रतिकारमा उत्रिने युवा सङ्घका केन्द्रीय सदस्य बिकी साहु श्रेष्ठ र वडा नं ७ का वडासदस्य अर्जुन खतिवडाले बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सरकारको विकासको आयोजना पूरा गर्न सहयोगका लागि स्थानीय जनप्रतिनिधि र जनतालाई आग्रह गर्दै विकासको गतिमा अवरोध गर्दै शान्ति सुरक्षा बिथोल्न खोजे सुरक्षा दिने प्रशासनको कर्तव्य भएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology